Kath khabar
नेपाली क्रिकेट टोली एसिया कप खेल्न पाकिस्तान प्रस्थान

 

                काठमाडौं, भदौ ६ ।  भदौ १३ गतेदेखि पाकिस्तान र श्रीलङ्कामा हुने एसिया कप क्रिकेट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली पाकिस्तान प्रस्थान गरेको छ । 

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोलीलाई सफलताको शुभकामना सहित बिदाइ गरेको छ । नेपाली टोली गए राति त्यसतर्फ प्रस्थान गरेको हो । सन्दीप लामिछाने भने यो टोलीका साथमा पाकिस्तान गएका छैनन् । 

नेपालले एसिया कप अघि पाकिस्तानमा अभ्यास खेल खेल्नेछ ।  पहिलो पटक एसिया कप खेल्न लागेको नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा भारत र पाकिस्तान छन् । त्यस्तै समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान रहेका छन् । नेपालले भदौ १३ गते पाकिस्तानसँग खेल्नेछ । दोस्रो खेल १८ गते भारतसँग श्रीलंकामा खेल्नेछ ।

हिजो भएको बिदाइ कार्यक्रममा नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाइले यो प्रतियोगिताको लागि आफू निकै सकारात्मक रहेको बताएका छन् । यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले एसिया कप क्रिकेटमा भारत र पाकिस्तानसँग उत्कृष्ट खेल खेल्ने बताए । 

त्यसअघि हिजो राष्ट्रपति रामचन्द्र पौडेलले एसिया कप क्रिकेट प्रतियोगितामा खेल्न पाकिस्तान जाने टोलीलाई शुभकामना व्यक्त गर्नुभयो ।

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update