Kath khabar
महिला टी-२० : कुवेतलाई पराजित गर्दै नेपालको लगातार दोस्रो जित

 

                क्वालालम्पुर, भदौ ६ ।  टी-२० सिरिजमा नेपालले लगातार दोस्रो खेलमा जित हात पारेको छ। 

बुधबार मलेसियाको बायुमास ओभलमा भएको खेलमा नेपालले कुवेतलाई ३४ रनले हरायो। यस अघि मंगलबार भएको आफ्नो पहिलो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको थियो। 

बधुबार टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर ८९ रन जोड्यो। नेपालका लागि विन्दू रावलले २० रन र इन्दू बर्माले २३ रन बनाए, काजल श्रेष्ठले नटआउट १९ रनको योगदान दिइन्। बलिङमा कुवेतकी मरियमना हैदरले ४ विकेट लिइन्। 

९० रनको लक्ष्य पछ्याएको कुवेतले २० ओभरमा ८ विकेट गुमाएर ५५ रन मात्र जोड्न सक्यो। कुवेतकी जीफी जिलानीले ११ रन र खाजिदा खलिलले १० रन जोड्दा अन्य ब्याटर दोहोरो अंकमा रन नजोड्दै आउट भए। 

बलिङमा नेपालकी इन्दू बर्माले ३ विकेट लिइन् भने खुसी डंगोलले २ विकेट हात पारिन्। सिरिजमा अब नेपालले शुक्रबार आयोजक मलेसियासँग खेल्नेछ। त्यसपछि नेपालले आइसिसी महिला टी-२० विश्वकप एसिया छनोट खेल्नेछ।

मलेसियामा हुने प्रतियोगिताको समूह ‘ए’ मा नेपाल सहित ६ टिमले प्रतिस्पर्धा गर्दैछन्। नेपाल, बहराइन, भुटान, मलेसिया, कतार र युएई समूह ‘ए’ मा छन्। प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा अगस्ट ३१ मा आयोजक मलेसियासँग खेल्नेछ।

समूह ‘बी’ मा ५ टिम छन्। प्रतियोगिताबाट २ टिम विश्व छनोटमा पुग्नेछन्। विश्वकप छनोटमा १० टिम सहभागी हुँदा २ टिमले सन् २०२४ मा बंगलादेशमा हुने महिला टी-२० विश्वकपमा स्थान पक्का गर्नेछन्।

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update