Kath khabar
फिफाद्वारा लुइस रुवियाल्सलाई विवादिद चुम्बन काण्डमा अनुशासनको कारबाही गर्ने

 

                 बार्सिलोना, भदौ ८ ।  फिफाले स्पेनिस फुटबल महासंघ अध्यक्ष लुइस रुवियाल्सलाई अनुशासनको कारबाही गर्ने भएको छ । यसै आइतबार अस्ट्रेलियाको सिड्नीमा फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको विजेता स्पेनका खेलाडीलाई सार्वजनिक रूपमै तीनपटक चुम्बन गरेपछि लुइस विवादमा तानिएका थिए । इंग्ल्यान्डलाई १-० ले हराएको स्पेनका खेलाडी पुरस्कार समारोहमा सहभागी हुँदा लुइसले स्ट्राइकर जेनी हेर्मोसोलाई ओठमै चुम्बन गरेका थिए । 

हेर्मोसोले होटेल पुगेपछि इन्स्टाग्राममा लाइभ बस्दै अध्यक्षको कार्य गलत भएको भन्दै विरोध गरेकी थिइन् । उनले अध्यक्षको हर्कतबाट आफू दुःखी भएको बताएकी छिन् । फिफाको विधानको दफा १३ मा अनुशासन संहिता उल्लेख छ । यही विधान अनुसार अध्यक्ष लुइसले सार्वजनिक स्थलमा आफ्नै खेलाडी माथि आपत्तिजनक व्यवहार गरेको फिफाले जनाएको छ ।

‘अनुशासन संहिता अनुसार खेल पदाधिकारीले निष्पक्ष, बफादारी र निष्ठाको सिद्धान्त पालना गर्नुपर्छ,’ फिफाले भनेको छ, ‘कुनै पनि प्राकृतिक वा कानुनी व्यक्तिलाई अपमान गर्ने, आपत्तिजनक इसारा गर्ने, संकेत र भाषा प्रयोग गरे, अनुशासनको दायरामा ल्याइने विधानको १३ नम्बरमा लेखिएको छ । 

विवाद पछि लुइसले अन्जानवश घटना घटेको बताए । स्पेनिस प्रधानमन्त्री पेड्रो सान्चेजले माफी मात्रले काफी नहुने बताए । उपप्रधानमन्त्री योलान्डा डिआजले कारबाही गर्नुपर्ने माग राखे । ३३ वर्षीया हेर्मोसोलाई विभिन्न महिला संघसंस्थाले साथ दिएका छन् । हेर्मोसोले स्पेनबाट १०१ खेल खेलिसकेकी छिन् । स्पेनिस प्रशिक्षक भिल्डाले भने अध्यक्षलाई साथ दिएका छन् । 

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १४:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update