Kath khabar
महिला टी-२० विश्व कप : कतारले नेपाललाई दियो ७५ रनको लक्ष्य

 

                बाङ्गी, भदौ १८ ।  आईसीसी महिला टी-२० विश्व कप एसिया क्षेत्र छनोटमा कतारले नेपाललाई ७५ रनको लक्ष्य दिएको छ ।

मलेसियाको बाङ्गीमा टस हारेर पहिले ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रन बनायो । कतारकी साची धडवालले सर्वाधिक २१ रन जोडिन् । यस्तै, एलिना खानले १५, एन्जिलेने मारेले १४ र यशाले १० रन जोडिन्।

नेपालकी इन्दु बर्माले ३ विकेट लिइन् भने पूजा महतो र कविता जोशीले १/१ विकेट लिए । जितका लागि ७५ रनको लक्ष्य पाएको नेपालले ब्याटिङ गर्दैछ । समूह ‘ए’ मा लगातार ३ खेल जितेर अपराजित रहेको नेपालले आज कतारलाई हराएमा अन्तिम खेलअघि नै सेमिफाइनल पुग्नेछ ।

नेपालले यसअघि मलेसिया, बहराइन र भुटानलाई पराजित गरेको थियो । नेपालले समूहको अन्तिम खेलमा यूएईसँग पर्सि बुधवार खेल्नेछ । प्रतियोगितामा सहभागी ११ देशलाई २ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र यूएई छन् ।

समूह ‘बी’ मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यानमार छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने २ टोलीले सन् २०२४ मा हुने ग्लोबल टी-२० क्वालिफायर खेल्न पाउनेछन् ।

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update