Kath khabar
स्पेनिस फुटबल संघका अध्यक्ष लुइस ४ वर्ष जेल जान सक्ने


              म्याड्रिड, भदौ २२ ।  फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा खेलाडीलाई चुम्बन गरेका स्पेनिस फुटबल संघका अध्यक्ष लुइस रुविलेस ४ वर्ष जेल जान सक्ने भएका छन् । लुइस विरुद्ध अहिले विशेष अदालतमा मुद्दा चलिरहेको छ । फिफाको अनुशासन कमिटीले पनि उनीमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

स्पेनको अदालतले सार्वजनिक स्थलमा यौन दुव्र्यवहार गरेको आरोप ठहराए उनी ४ वर्ष जेल चलान हुन सक्ने स्पेनिस मिडियाले जनाएको छ । गत महिना अस्ट्रेलियाको सिड्नीमा भएको महिला विश्वकपको फाइनलमा इंग्ल्यान्डलाई हराए पछि स्पेन पहिलो पटक विश्व च्याम्पियन बनेको थियो । 

पदक वितरण समारोहमा फुटबल संघका अध्यक्ष लुइसले च्याम्पियन खेलाडी जेनी हेर्मोसोलाई ३ पटक चुम्बन गरेका थिए । स्ट्राइकर जेनीले तत्काल केही प्रतिक्रिया दिइनन् । होटेलमा पुगेपछि उनले आफ्नो स्वीकृति विना अध्यक्षले चुम्बन गरेको जनाइन् ।

उनले फिफा र स्पेनिस फुटबल संघमा आफूमाथि भएको यौन दुव्र्यवहारको अपिल गरिन् । पदक वितरणमा आफूले नियन्त्रण राख्न नसकेको र खराब विचारले खेलाडीलाई चुम्बन नगरेको लुइसले प्रतिक्रिया दिएका थिए । 

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १३:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update