Kath khabar
एसिया कप क्रिकेट : श्रीलङ्कासँग पराजित हुँदै बङ्लादेश बाहिरियो, आज भारत र पाकिस्तान खेल्दै

 

                कोलम्बो, भदौ २४ ।  एसिया कप क्रिकेटमा श्रीलङ्कासँग पराजित हुँदै बङ्लादेश बाहिरिएको छ । सुपर फोरमा लगातार २ खेल हारेको बङ्लादेशको फाइनल पुग्ने सम्भावना सकिएको हो ।

बङ्लादेश हिजो भएको दोस्रो खेलमा श्रीलङ्कासँग २१ रनले पराजित भयो । त्यस्तै, पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले हारेको थियो । सुपर फोरको अन्तिम खेलमा बङ्लादेशले भारतसँग खेल्नेछ ।

घरेलु मैदान कोलम्बोमा हिजो भएको खेलमा श्रीलङ्काले बङ्लादेशलाई जितका लागि २ सय ५८ रनको लक्ष्य दिएको थियो । बङ्लादेश ४८ ओभर १ बलमा २३६ रनमा अलआउट भयो । बङ्लादेशका तोहिड ह्रिदोले सर्वाधिक ८२ रनको पारी खेले पनि टोलीको हार टार्न सकेनन् ।

श्रीलङ्काका महेश तिक्ष्णा, दसुन सनका र महिषा पथिरनाले समान ३/३ विकेट लिए । त्यसअघि पहिला ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २५७ रन बनाएको थियो । श्रीलङ्काका सदिरा समर विक्रमाले ९३ रनको उत्कृष्ट पारी खेले । कुशल मेन्डिस ५० रन बनाएर आउट भए । बङ्लादेशका तक्सिन अहमद र हसन मोहमदले ३/३ विकेट लिए । 

त्यसैगरी एसिया कप क्रिकेटको सुपर फोरमा आज भारत र पाकिस्तान खेल्दैछन् । २ देश बीचको खेल कोलम्बोको आर प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ ।

भारत र पाकिस्तानबीच यो प्रतियोगितामा दोस्रो खेल हुनेछ । सेप्टेम्बर २ तारिखमा भएको समूह चरणको खेल वर्षाका कारण रद्द भएको थियो । पाकिस्तानले सुपर फोरको पहिलो खेलमा बङ्लादेशलाई ७ विकेटले हराएको थियो । भारतले सुपर फोरको पहिलो खेल खेल्न लागेको हो ।

आजको खेल वर्षाले प्रभावित हुन सक्ने अवस्थामा ुरिजर्भ डेु राखिएको छ । आज खेल पूरा हुन नसकेमा भोलि हुनेछ । सुपर फोरमा भारत, पाकिस्तान, श्रीलङ्का र बङ्लादेश छन् ।

 

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update