Kath khabar
एसिया कप क्रिकेट : भारतसँग २२८ रनले पराजित पाकिस्तान

 

                कोलम्बो, भदौ २६ ।  एसिया कपको सुपर-४ चरणको खेलमा पाकिस्तान भारतसँग पराजित भएको छ । सोमबार रातिसम्म भएको खेलमा पाकिस्तान भारतसँग २२८ रनले पराजित भएको हो ।

वर्षाका कारण आइतबार रोकिएर सोमबार पुनः शुरु भएको खेलमा भारतले ३५७ रनको लक्ष्य दिएको थियो । त्यो लक्ष्य पच्छ्याउन मैदानमा आएका पाकिस्तानी ब्याटरहरू एक पछि अर्को गरी पेभेलियन फर्किन बाध्य भए ।

पाकिस्तानका लागि ओपनर फखर जमानको २७ रन नै सर्वाधिक स्कोर रह्यो । आघा सलमान र इफ्तिखर अहमदले २३/२३ रन बनाए । कप्तान बाबर आजम १० रनमै आउट भए । पाकिस्तानले ३२ ओभरमा १२८ रन मात्र बनाउन सक्यो । पाकिस्तानका नसिम साह र हरिस राउफले भने चोटका कारण ब्याटिङ गरेनन् । शाहीन शाह अफ्रिदी ७ रनमा नटआउट रहे ।

आइतबार वर्षाले खेल रोकिए पछि सरेको खेल सोमबार पनि १ घण्टाभन्दा बढी रोकिएको थियो । भारतका लागि कुलदीप यादवले उत्कृष्ट बलिङ गरे । ८ ओभरमा उनले २५ रन मात्र खर्चिएर ५ विकेट लिए । त्यस्तै जसप्रित बुमराह, हार्दिक पाण्ड्या र शार्दुल ठाकुरले १/१ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा २ विकेटको क्षतिमा ३५६ रन बनाएको हो । भारतका लागि विराट कोहली र केएल राहुलले शतकीय पारी खेले ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १३:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update