Kath khabar
लिबिया : बाढीमा मर्नेको संख्या ५ हजार नाघ्यो


                     त्रिपोली, भदौ २९ ।  ९० हजार जनसंख्या भएको डेर्नामा अहिले जताततै शव मात्र छरिएको देखिने उद्धारमा संलग्नहरूले मिडियालाई बताए । लिबियामा ‘ड्यानियल’ नामक आँधीसँगै परेको मुसलधारे वर्षाले २ वटा बाँध भत्काउँदा निम्तिएको भीषण बाढीका कारण ज्यान गुमाउनेको संख्या बिहीबारसम्म ५ हजार ३ सय पुगेको छ । अझै दसौँ हजार बेपत्ता भएका छन् भने ५० हजारभन्दा बढी विस्थापित भएका छन् । बाढीबाट सर्वाधिक प्रभावित पूर्वी सहर डेर्नामा कम्तीमा ३० हजार लिबियाली घरबार विहीन भएको आप्रवासनसम्बन्धी अन्तर्राष्ट्रिय संगठन (आइओएम)ले जनाएको छ ।

सामाजिक संघ संस्थाले पनि शव व्यवस्थापनमा चुनौतीको सामना गरिरहेका छन् । बाढीले भत्काएका सडकका चेप र खोंच तथा समुद्री किनारमा पुर्‍याएका शव निकाल्ने काम भइरहेको छ । लिबियाका दुवै प्रतिद्वन्द्वी सरकारले बाढीपीडितका लागि राहत सामग्री परिचालनमा समन्वय गरिरहेका छन् भने इजिप्ट, ट्युनिसिया, इटली, स्पेन र टर्की लगायत देशबाट उद्धार टोली त्रिपोली आइपुगेका छन् । 

उद्धारकर्मीका अनुसार अहिले डेर्नामा बाढीको विनाश बाहेक केही देखिँदैन । लिबियामा सक्रिय २ सरकार मध्ये अन्तर्राष्ट्रिय मान्यता प्राप्त लिबियाको अन्तरिम सरकारले ५ हजार ३ सयजनाले ज्यान गुमाएको बताए पनि पूर्वी क्षेत्रको सरकारका अधिकारीले ८ हजार भन्दा बढीको मृत्यु भएको बताएका छन् । हालसम्म ३ हजार १ सय ९० जनाको अन्त्येष्टि गरिएको छ । सरकारी अधिकारीहरूले डेर्नाको पश्चिम र बेनगाजीको पूर्वमा रहेको तटीय सहर टोक्राकोे बाँध पनि भत्किन सक्ने चेतावनी दिँदै तटीय क्षेत्र र आसपासका बासिन्दालाई तत्काल ती स्थानबाट सुरक्षित ठाउँमा सर्न आग्रह गरेको बताएका छन् । खोज र उद्धारलाई अझ तीव्र गतिमा सञ्चालन गर्न नसकिएको उल्लेख गर्दै अब जीवित मानिस फेला पार्न कठिन हुने उनी बताउँछन् । 

पूर्वी लिबियाको बन्दरगाह सहर डेर्नाका प्रमुख अब्दुलमेनम अल गैथीधचले बाढीमा परी १८ हजारदेखि २० हजार मानिसको मृत्यु भएको हुन सक्ने आशंका जताए । २ वटा बाँध फुट्दा डेर्ना नगर र आसपासका जिल्लाका बासिन्दाको तथ्यांकमा आधारित भएर उनले त्यति धेरै लिबियालीले ज्यान गुमाएको हुन सक्ने बताएका हुन् । 

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १४:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update