Kath khabar
द्रुत बस सेवा चलाउन ‘डेडिकेटेड लेन’ निर्माण सुरु

 

                     काठमाडौं, भदौ २९ । सूर्यविनायक-रत्नपार्क ‘द्रुत बस सेवा’ सञ्चालनका लागि सडकमा ‘डेडिकेटेड लेन’ बनाउन सुरु गरिएको छ ।

सडक डिभिजन कार्यालयले द्रुत बस सेवा सञ्चालनका लागि ‘रेडमार्क’ गर्न थालिएको सडक डिभिजनका कार्यालय प्रमुख नारायण निहुरेले बताउनुभयो । लामो बर्सातका कारण सडकको डेडिकेटेड लेनमा रेडमार्क गर्न सकिएको थिएन ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले संविधान दिवस असोज ३ गतेदेखि द्रुत बस सेवा सञ्चालन गर्न निर्देशन दिनुभएको थियो । मन्त्री ज्वालाको निर्देशनपछि सडक विभाग र यातायात व्यवस्था विभागले काम सुरु गरेका छन् ।

यातायात व्यवस्था विभागले द्रुत बस सेवाका लागि २५ ठूला बसहरु तयारी अवस्थामा राखेको छ भने सडक विभागले डेडिकेटेड लेन बनाउन थालेको छ । तीन दिनभित्र रत्नपार्कदेखि सूर्यविनायकसम्म डेडिकेटेड लेन सक्ने गरी काम थालिएको छ ।

विभागले दुई खण्ड बनाएर सडकको रेडमार्क गर्न थालेको छ । रत्नपार्कदेखि जडीबुटी, र जडीबुटीदेखि सूर्यविनायकसम्म दुई मार्ग बनाउन थालिएको छ । बिहान र बेलुकाको कार्यालय समयमा काठमाडौँ उपत्यकाभित्र धेरै ट्राफिक जाम हुने भएकाले त्यसलाई न्यूनीकरण गर्न सो सेवाको अवधारणा ल्याइएको हो ।

बिहान र साँझ कार्यालय समयमा ‘द्रुत बस सेवा’ सञ्चालन गरिने छ । बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सो सेवा सञ्चालन हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update