Kath khabar
सूर्यविनायक-रत्नपार्क ‘द्रुत बस सेवा’ सुरु, अब ४५ मिनेटमै सूर्यविनायकदेखि रत्नपार्क पुग्ने


                      काठमाडौं, असोज ३ । आजबाट सूर्यविनायक-रत्नपार्क द्रुत बस सेवा शुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय र यातायात व्यवस्था विभागले संविधान दिवसको अवसर पारेर द्रुत बस सञ्चालन गरेको हो ।

रत्नपार्कस्थित शान्तिवाटिकामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन गरेका हुन् ।  द्रुत सेवाको बसमा उद्घाटनपछि भौतिक मन्त्री ज्वाला, काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह, बागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल लगायतले यात्रा गरेका थिए ।

द्रुत बस सेवाको उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवा रत्नपार्क–सूर्यविनायकसम्म मात्रै सिमित नरहने बताएका छन् । उनले द्रुत बस सेवा सूर्यविनायक–रत्नपार्क रुटमा मात्रै सिमित नहुने भन्दै सरकारले एयरपोर्ट, रिङरोड, नागढुङ्गा, ललितपुर, बालाजु, महाराजगञ्ज र चाबहिल क्षेत्रमा पनि बिस्तारै बिस्तार गर्दै लैजाने प्रतिवद्धता जनाए ।

आज उद्घाटन भएपनि सर्वसाधारणका लागि भोलिबाट बस सञ्चालनमा आउनेछ । द्रुत बस बिहान ९ देखि ११ र बेलुका ४ देखि ६ बजेसम्म सूर्यबिनायक रत्नपार्क सञ्चालन हुनेछ । यसरी चल्ने बसको अगाडी द्रुत बस सेवा लेखिएको छ भने यी बस चल्ने लेनमा रातो रङ पोतिएको छ । अरु सार्वजनिक बसलाई रत्नपार्क–सूर्यविनायक पुग्न डेढ घण्टा समय लाग्ने गरेकोमा अब द्रुत बस सेवा ४५ मिनेटमै रत्नपार्कबाट सूर्यविनायक पुग्न सक्नेछ । द्रुत सेवाका बसहरु रत्नपार्क र सूर्यविनायक दुवैतर्फबाट ५/५ मिनेटको फरकमा छुट्नेछन् ।

समय अघि वा पछि बाहेक द्रुत बस चल्ने लेनमा अरू कुनै पनि सवारी चलाउन पाइने छैन । यसरी चल्ने बसहरूलाई एम्बुलेन्स सरहको सुविधा उपलब्ध छ अर्थात् ट्राफिक लाइटमा रोकिनु पर्ने छैन । तर अन्य लेनमा पस्ने अनुमति पनि हुनेछैन । स्टप अनुसार पिक अप र ड्रप मात्र हुने भएकोले स्टपमा धेरै बेर बस्ने र जाममा फस्नुपर्ने समस्या हुनेछैन ।

रत्नपार्कदेखि सूर्यविनायकसम्मका लागि द्रुत बसको १९ स्थानमा बस स्टप तोकिएको छ । रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँ बानेश्वर, शान्तिनगर, कोटेश्वर, जडीबुटी, कौशलटार, गट्ठाघर र सूर्यविनायकलगायत यात्रुको चाप हुने स्थानमा बसस्टप तोकिएको छ।

 

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update