Kath khabar
शिक्षकहरूको आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालयहरु बन्द

 

                    काठमाडौं, असोज ४ । आजदेखि देशभरका सामुदायिक विद्यालय बन्द हुने भएका छन् । विद्यालय बन्दको घोषणा नै गरेर शिक्षकहरुले आन्दोलन थालेसँगै आजदेखि देशभरका सामुदायिक विद्यालयमा पठनपाठन रोकिने भएको छ । आन्दोलनले देशभरका ७० लाख भन्दा बढी विद्यार्थीको पठनपाठन अवरुद्ध हुने भएको छ । नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षक, कर्मचारीहरू आन्दोलनका लागि काठमाडौँ आएका छन् ।

बुधबार काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरम्म प्रदर्शन गरेका उनीहरूले आजखि थप आन्दोलनका कार्यक्रम चर्काउने चेतावनी दिएका छन् । राहत, करार, बाल विकास, स्थायीलगायतका शिक्षक कर्मचारीले विधेयकप्रति विभिन्न १८ बुँदे असहमति राखेका छन् ।

आन्दोलनका कारण रोकिएको पढाइ पछि सार्वजनिक बिदामा पढाएर परिपूर्ति गर्ने महासंघले जनाएको छ । शिक्षकहरूले सरुवा, बढुवा, नियुक्ति, कार्यसम्पादन मूल्यांकन, सेवा सुविधा, नियमनलगायत रेखदेखमा स्थानीय तहको भूमिका अस्वीकार गर्दै आन्दोलन घोषणा गरेका हुन् ।

संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले शिक्षकलाई स्थानीय तहमातहत राख्ने व्यवस्था गरेको छ।  आज बिहिबार बिहान आन्दोलनरत शिक्षकसँग सरकारले गृह मन्त्रालयमा गरेको छलफल निष्कर्षविहिन भएको छ ।

 

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update