Kath Khabar
चितवन राष्ट्रिय निकुञ्जका पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइँदै

 

                    चितवन, असोज ४ ।  चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुईवटा गैँडा पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने भएको छ। यही असोज १० गते गैँडा कोशी टप्पु पठाउन लागिएको हो। 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निमित्त महानिर्देशक हरिभद्र आचार्यका अनुसार कोशीमा प्राविधिक समितिले गरेको अध्ययनमा गैँडाका लागि वासस्थान उपयुक्त देखिए पछि गैँडा त्यहाँ पठाउन लागिएको हो। 

विभागका तत्कालीन उपमहानिर्देशक वेदकुमार ढकालको संयोजकत्वमा बनेको प्राविधिक समितिले विस्तृत अध्ययनपछि प्रतिवेदन बुझाएको थियो।
 
कोशी टप्पु वन्यजन्तु आरक्षमा अहिले गैँडा छैनन्। आचार्यले शुरुमा यहाँबाट लगिएका गैँडालाई खुला खोरमा केही समय राखेपछि छाडिने बताए। कोशीको पथरी सेक्टर कार्यालयको आरक्ष सुरक्षार्थ सेनाको पोस्ट रहेको क्षेत्र नजिक गैँडालाई राखिनेछ। 

केही वर्षअघि आरक्षबाट चितवन राष्ट्रिय निकुञ्जमा १३ वटा अर्ना ल्याइएको थियो। तत्कालीन समयमा स्थानीयले चितवनबाट आरक्षमा गैँडा ल्याउनुपर्ने माग गरेका थिए। सोहीअनुसार विभागले प्राविधिक समिति बनाएर अध्ययन थालेको थियो। चितवनमा त्यहाँबाट ल्याइएका र चिडियाखानाबाट ल्याइएका थप २ सहित १५ वटा अर्ना भने बच्न सकेनन्।
 
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले उद्धार गरेर सौराहामा हुर्काए पछि गत वैशाख ३१ गते निकुञ्जको लामिताल क्षेत्रमा छाडिएका २ वटा गैँडा कोशी पठाउन लागिएको बताए। 

ती दुवै पोथी गैँडा हुन्। ती गैँडा तमासपुर र कुजौली क्षेत्रमा माउबाट छुटिएर अनाथ हुन पुगेको अवस्थामा अन्दाजी २ र १ महिना उमेरमा उद्धार गरिएको थियो। तिनीहरूलाई पुष्पा र अञ्जली नामकरण गरिएको थियो।
 
अहिले पुष्पा ३ वर्ष ९ महिना र अञ्जली २ वर्ष ३ महिना उमेरका छन्। ती गैँडा अहिले पनि मानव बस्तीमा आएर दुःख दिने गरेका छन्। तिनै गैँडालाई कोशीमा पठाउन लागिएको पुनले बताए। 
 
निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार गैँडा पठाउन सबै तयारी भइसकेको छ। पुरानो खोरलाई पनि मर्मत गरिएको छ। पछिल्लो गणनाअनुसार निकुञ्जमा ६ सय ९४ गैँडा रहेको तथ्यांक छ। तर, उक्त गणनामा यी गैँडा समावेश गरिएको छैन। हाल  देशभर ७ सय ५२ गैँडा छन्। हाल पठाउन लागिएका गैँडा हुर्किए पछि भाले पनि छोड्ने योजना छ।

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १४:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update