Kath Khabar
चितवन राष्ट्रिय निकुञ्जबाट कोसीटप्पु पठाइए पुष्पा र अञ्जली
File Photo

 

                     चितवन, असोज ९ । चितवन राष्ट्रिय निकुञ्जबाट दुईवटा गैँडा पुष्पा र अञ्जली आज कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइएको छ । हालसम्मको तथ्यांकअनुसार कोसी टप्पुमा एकसिंगे गैंडा छैनन् । उनीहरूलाई पहिलोपटक स्थानान्तरण गर्न लागिएको हो ।

माउबाट छुटेका पुष्पा र अञ्जली टुहुरा बच्चा हुन् । ती गैँडा तमासपुर र कुजौली क्षेत्रमा माउबाट छुटिएर अनाथ हुन पुगेको अवस्थामा अन्दाजी दुई र एक महिना उमेरमा उद्धार गरिएको थियो । तिनीहरुलाई पुष्पा र अञ्जली नामाकरण गरिएको छ । अहिले पुष्पा तीन वर्ष नौ महिना र अञ्जली दुई वर्ष छ महिनाका छन् । ती गैँडाले अहिले पनि मानव बस्तीमा आएर दु:ख दिने गरेकाले पठाइएको हो।

कोशीमा प्राविधिक समितिले गरेको अध्ययनमा गैँडाका लागि बासस्थान उपयुक्त देखिएपछि गैँडा लगिएको हो । गैँडालाई लिएर निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनको नेतृत्वमा भेटेरिनरी चिकित्सकसहितको टोली कोशी गएको छ । विभागका तत्कालीन उपमहानिर्देशक बेदकुमार ढकालको संयोजकत्वमा बनेको प्राविधिक समितिले त्यस विषयमा विस्तृत अध्ययन गरेपछि प्रतिवेदन बुझाएको थियो ।

सुरुमा यहाँबाट लगिएका गैँडालाई खुल्ला खोरमा केही समय राखेपछि प्रकृतिमा छाडिने छ । कोशीको पथरी सेक्टर कार्यालय नजिकै आरक्ष सुरक्षार्थ सेनाको पोष्टनजिक गैँडा राखिँदैछ । प्रकृतिमा छाड्ने समयमा गैँडा थप गरिने छ । केही वर्षअघि उक्त निकुञ्जमा १३ वटा अर्ना ल्याइएको थियो । तत्कालीन समयमा स्थानीयवासीले चितवनबाट आरक्षमा गैँडा ल्याउनुपर्ने माग गरेका थिए । सोहीअनुसार विभागले प्राविधिक समिति बनाएर अध्ययन थालिएको थियो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले उद्धार गरेर सौराहामा हुर्काएपछि गत वैशाख ३१ गते निकुञ्जको लामीताल क्षेत्रमा छाडिएका दुईवटा गैँडा कोशी पठाइएको हो ।

पछिल्लो गणनाअनुसार देशभर सात सय ५२ गैँडा रहेका छन् । हाल पठाउन लागिएका गैँडा हुर्किएपछि थप भाले पनि पठाएर प्रकृतिमा छोड्ने योजना बनाइएको छ । निकुञ्जबाट यसअघि बर्दिया, शुक्लाफाँटा र विदेशीलाई उपहारमा समेत गैँडा पठाइएको थियो । यस निकुञ्जबाट सन् १९८६ देखि गैँडा स्थानान्तरण गर्न थालिएको हो । सुरुआतमा तीन भाले र एक पोथी गैँडा पठाइएको थियो । सोही वर्ष डिसेम्बरमा पाँच भाले र चार पोथी गैँडा बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update