Kath khabar
आज ४४ औं विश्व पर्यटन दिवस मनाइँदै

 

                 काठमाडौं, असोज १० ।  आज ४४ औं विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ।

दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा संघसंस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन्।

‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ नेपालमा विश्व पर्यटन दिवस मनाउन लागिएको पर्यटन मन्त्रालयले जनाएको छ। पर्यटन दिवस भव्य रूपमा मनाउन पर्यटनमन्त्री सुदन किरातीको संयोजकत्वमा ४४औँ विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको छ।

मन्त्रालयका प्रवक्ता राजेन्द्र कुमार केसीका अनुसार आज बिहान ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडानबाट आउने विदेशी पर्यटकलाई पर्यटनमन्त्रीले स्वागत गर्नु भएकोछ ।

यस्तै बिहान साढे ७ बजे ललितपुरको पाटन ढोकाबाट मङ्गलबजारसम्म प्रभात फेरी गरी पाटन दरबार क्षेत्रमा औपचारिक कार्यक्रममा हुनेछ।

पर्यटन मन्त्रालय र ललितपुर महानगरपालिकाले संयुक्त रूपमा आयोजना गर्ने उक्त कार्यक्रममा बढी विदेशी मुद्रा आर्जन गर्ने संस्था, पर्वतारोही, पर्यटन क्षेत्रमा योगदान गर्ने व्यक्ति एवं संस्थालाई पर्यटन क्षेत्रका विभिन्न ८ विधामा सम्मान गरिने कार्यक्रम छ ।

‘सबैका लागि पर्यटनः पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ नारासहित हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाइन्छ।

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update