Kath khabar
हरियो मकै मात्र हैन यसको जुँगा पनि हुन्छ फाइदाजनक

 

                   काठमाडौं, असोज ११ । मकै संसारमा सबै भन्दा धेरै क्षेत्रफलमा लगाईने तथा सबै भन्दा धेरै खपत हुने बालीमा पर्दछ । हरियो मकै हामी पोलेर वा उसिनेर खान्छौ । यो स्वास्थ्यका लागि फाइदाजनक छ । तर, हामीले हरियो मकैको जुँगालाई सधैं फाल्ने गर्छौं । त्यसै खेर फालिने मकैको जुँगा एकदमै काम लाग्ने चिज हो ।  मकैको जुँगालाई औषधिका रुपमा दर्ता गराउने सबैभन्दा पहिलो व्यक्ति एक चाइनिज फिजिसियन लान माओ हुन्।

यस्ता छन् मकैको जुँगा खानुको फाइदा
पिसाबनलीको सङ्क्रमण : मकैको जुँगामा एन्टी इन्फ्लेमेटोरी तत्वहरू पाइने हुँदा मकैको जुँगाको सेवन पिसाब नलीको सङ्क्रमणमा धेरै लाभदायी हुन्छ । यसले पिसाब नलीको तहलाई सुरक्षा गरेर पोलाइलाई कम गरिदिनुका साथै सङ्क्रमणलाई पनि निको पार्ने काम गर्छ ।

पिसाब लगाउने : कुनै पनि कारण शरीरका कोषहरूमा पानी जम्ने वा पानी जमेर सुन्निने समस्या पैदा भयो भने मकैको चियाको सेवन लाभदायी हुन्छ । महँगा र शरीरलाई नोक्सानी पुर्याउने विभिन्न थरी पिसाब लगाउने औषधीहरूको तुलनामा यो अति सुरक्षित हुन्छ ।

मिर्गौलाको पत्थरी : मकैको जुँगाको चियाले पिसाब लगाउने भएको कारण यसको नियमित सेवनले मिर्गौलामा पत्थर बन्ने सम्भावना पनि न्यून बनाइदिन्छ । ख्याल गर्नुपर्ने कुरा के छ भने, यसले पत्थरी बन्न दिँदैन तर पहिल्यै पत्थरी भइसकेको छ भने त्यसको उपचारमा चाहिँ यो काम लाग्दैन ।

रक्तचाप घटाउँछ : उच्च रक्तचापको समस्या विश्वव्यापी रूपमै एउटा ठूलो नसर्ने रोगको रूपमा स्थापित भइसकेको छ । उच्च रक्तचापको एउटा विन्दुमा पुगेपछि अनिवार्य रूपमा औषधिको सेवन गर्नैपर्ने हुन्छ । तर मकैको जुँगाको चिया नियमित रूपमा सेवन गर्ने हो भने त्यसले उच्च रक्तचापलाई पनि घटाइदिने गर्छ ।

मधुमेहको लागि : इन्टरनेसनल जर्नल अफ बायोलोजिकल्ली काक्रोमोलेक्युल्समा सन् २०१२ मा प्रकाशित एक अनुसन्धानात्मक लेखका अनुसार मधुमेह भएका मुसालाई प्रयोगशालामा मकैको जुँगाको तत्व निकालेर सेवन गराउँदा तिनको रगतबाट चिनीको मात्रा घटेको पाइएको थियो ।

कोलेस्ट्रोल नियन्त्रण : रगतमा खराब कोलेस्ट्रोलको मात्रा बढ्नु र त्यो अनियन्त्रित हुँदै जाँदा विभिन्न घातक मुटुरोगहरू लाग्ने सम्भावना हुन्छ । मकैको जुँगाको सेवनले रगतमा कोलेस्ट्रोलको मात्रालाई नियन्त्रण गर्छ ।

भिटामिन सीको स्रोत : भिटामिन सी भन्नेबित्तिकै हाम्रो मनमस्तिष्कमा अमिलोको ख्याल आइहाल्छ । यो कुरा कमैलाई थाहा होला कि मकैको जुँगामा भिटामिन सी पाइन्छ । भिटामिन सीले शरीरको प्रतिरक्षा प्रणालीलाई सुदृढ बनाइदिन्छ ।

मोटोपन घटाउँछ : मोटोपन आजभोलि आम समस्या बन्दै गइरहेको छ । मोटोपनका कारणहरू विभिन्न हुन्छन् र तीमध्ये एक शरीरमा पानीको मात्रा बढी सञ्चिति हुनु पनि हो । यो खालको मोटोपन घटाउनमा चाहिँ मकैको जुँगाले भूमिका निर्वाह गर्न सक्छ । खासगरी, मकैको जुँगाले शरीरमा अनावश्यक जम्मा भएको पानी र विकारहरूलाई हटाउने काम गर्छ ।

मकैको जुँगा कसरी प्रयोग गर्ने ?
मकैको जुँगाको चिया बनाएर सेवन गर्नु ठिक हुन्छ । त्यसको लागि मकैको जुँगााको ताजा रेसालाई तातो पानीमा हालेर ५–१० मिनेट छोपेर राख्ने । त्यसपछि त्यो पानीलाई छानेर खाने । स्वादको लागि थोरै कागती राखेर खाँदा पनि हुन्छ । मकैको जुँगालाई पानीमा उमालेपछि सो उमालेको पानी पनि चियाको रुपमा सेवन गर्न सकिन्छ।

जुनसुकै मौसममा मकैको जुँगा नपाइने भएकोले यसलाई सुकाएर पाउडर बनाएर राख्न पनि सकिन्छ । तर ताजा चाहि बढी फाइदाजनक हुन्छ।

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १४:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update