Kath khabar
दशैँमा घर जान सेना र सशस्त्रका कर्मचारीलाई गाडी सुविधा

 

                 काठमाडौं, कात्तिक १ ।  नेपाली सेना र सशस्त्र प्रहरी बलले दशैँका बेला घर जाने आफ्ना सुरक्षाकर्मीका लागि गाडीको सेवा उपलब्ध गराएको छ । आ-आफ्ना कर्मचारीलाई आवतजावतमा सहजताका लागि सेवा उपलब्ध गराइएको नेपाली सेना र सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

नेपाली सेनाले सहुलियतमा हवाई तथा स्थल यातायात सेवा उपलब्ध गराएको जनाएको छ भने सशस्त्र प्रहरीले निःशुल्क यातायात सेवा उपलब्ध गराएको जानकारी गराएको छ । नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार यस वर्षको बडादशैँमा घर जाने नेपाली सेनाका बहालवाला सकलदर्जा तथा तिनका आश्रित परिवारलाई सहुलियतको यातायात सुविधा उपलब्ध गराएको जानकारी दिएको छ ।

निर्देशनालयका अनुसार सडक सञ्जालको पहुँच पुगेका स्थानमा बस मार्फत ४२१ जनाले हालसम्म सेवा पाएका छन् । यस्तै सडक सञ्जालको सहज पहुँच नपुगेका तथा दुर्गम पहाडी हिमाली क्षेत्र लगायत लामो दूरीका गन्तव्यमा हवाई उडान मार्फत ६०५ जना गरी हालसम्म १ हजार २६ जना सकल दर्जा एवम् आश्रित परिवारले सेवा पाएका जानकारी दिइएको छ । यो सुविधा सेनाले यही कात्तिक २ गतेसम्म उपलब्ध गराउने छ ।

सशस्त्र प्रहरीले भने निःशुल्क रूपमा शुरु गरेको सेवा आगामी कात्तिक २ गतेसम्म सञ्चालन हुने जनाएको छ । सशस्त्र प्रहरीका प्रवक्ता वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काका अनुसार सशस्त्र प्रहरी बल नेपालले बडादशैँ, तिहार र छठको अवसरमा बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरूका परिवारजनलाई लक्षित गरी निःशुल्क २ बस  सञ्चालन गरेको छ ।

चाडपर्वका बेला घरबिदा जाने सशस्त्र प्रहरी बलको प्रधान कार्यालयबाट छुट्ने एउटा बसले काठमाडौं, नारायणगढ, बुटवल, भालुवाङ हुँदै कञ्चनपुरको गड्डाचौकीसम्म सेवा प्रदान गर्ने छ भने अर्को बसले नारायणगढ, बर्दिबास, सप्तरी, पकली हुँदै झापाको काँकडभिट्टासम्म सेवा प्रदान गर्ने सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक खड्काले बताउनुभयो । यसअघि सशस्त्र प्रहरीले बडादशैँका अवसरमा सर्वसाधारणको सुविधालाई ध्यानमा राखी काठमाडौं उपत्यका भित्र निःशुल्क बस सेवा सञ्चालन गरेको थियो ।

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update