Kath khabar
गुटेरेसलाई स्वागत गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लुम्बिनीमा

 

                        लुम्बिनी, कात्तिक १४ । नेपालको औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई स्वागत गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुद्ध जन्मस्थल लुम्बिनी पुगेका छन्  ।

महासचिव गुटेरेस अन्नपूर्ण बेसक्याम्पबाट भैरहवा हुँदै लुम्बिनी जानेछन् । महासचिव एन्टोनियो गुटेरेस हेलिकोप्टरमा लुम्बिनी पुगेपछि चार नम्बर गेटबाट गाडीमा शान्ति दीपमा लगिनेछ ।

लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यका अनुसार महासचिवलाई लुम्बिनीमा रहेका विहार, बौद्धधर्मका गुरु, भिक्षु भिक्षुणीसहित लुम्बिनी सांस्कृतिक नगरपालिकाका स्थानीय आमा समूह, थारूलगायत विभिन्न जातीय समूह र होटल व्यवसायीले समेत शान्तिदीपबाट मायादेवी मन्दिरको दुवैतर्फ बसेर स्वागत गर्नेछन् ।

महासचिवलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, लुम्बिनी विकास कोषका पदाधिकारीले स्वागत गर्ने कार्यक्रम छ ।

महासचिवले लुम्बिनीमा वृक्षारोपण पनि गर्ने कार्यक्रम रहेको र लुम्बिनीमा डेढ घण्टा बिताएपछि आज नै काठमाडौँ फर्कने गरी कार्यक्रम तालिका बनेको कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले बताए । महासचिवको लुम्बिनी भ्रमणले लुम्बिनी र गौतमबुद्धको शान्तिको सन्देश विश्वभर थप प्रचार–प्रसार हुने र लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने अपेक्षा गरिएको छ । उनी लुम्बिनी भ्रमणमा आउने संयुक्त राष्ट्रसङ्घका छैटौँ महासचिव हुन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update