Kath khabar
युनेस्कोको ‘फिल्मको रचनात्मक शहर’को सूचिमा काठमाडौं

 

                     काठमाडौं, कात्तिक १५ । युनेस्कोले काठमाडौंलाई ‘फिल्मको रचनात्मक शहर’ को रुपमा सूचिकृत गरेको छ । 

बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै काठमाडौँ महानगरपालिकाले यसबारेमा जानकारी गराएको हो । महानगरले अब चलचित्र क्षेत्रको विकास र बिस्तारका लागि काठमाडौं क्रिएट द काउन्सिल (केसीएसी, केएमसी) स्थापना गर्ने पनि पत्रकार सम्मेलनमा बताएको छ । विश्व शहर दिवसको अवसरमा काठमाडौं सहितका संसारका ५५ वटा शहरलाई 'क्रिएटिभ सिटिज नेटवर्क' मा समावेश गरिएको युनेस्कोले जनाएको छ ।

रचनात्मक सहरका लागि तोकिएका ७ क्षेत्रमध्ये काठमाडौं महानगरपालिकाले चलचित्र विधा छनोट गरेको र सञ्जालमा जोडिएको महानगरपालिकाले जनाएको छ । सञ्जालमा आबद्ध हुन शिल्प तथा लोककला, सङ्गीत, चलचित्र, साहित्य, ग्यास्ट्रोनमी (खानाका परिकार), मिडिया कला र डिजाइनमध्ये कुनै एउटा विधालाई छान्नु पर्ने प्रबन्ध थियो । यीमध्ये महानगरपालिकाले चलचित्र विधा छानेको हो । महानगरपालिकाका अनुसार रचनात्मक सहरका सबै विधाहरू काठमाडौँसँग सम्बन्धित छन् ।

जनजीवन, भूगोल, बस्ती र सांस्कृतिक मूर्त अमूर्त सम्पदासँग जोडिएका ऐतिहासिक र पुरातात्विक रोचक कथाका कारण काठमाडौँलाई रचनात्मक सहरका रुपमा हेर्ने गरिएको छ । जात्रा पर्व, मौलिक भेषभुषा, खानपान काठमाडौँसँग जोडिएर आउने बिम्ब हुन् । शहरभन्नेवित्तिकै मनमा आउने पहिलो चित्र यही हो ।

सञ्जालमा जोडिएपछि अब अन्तर्राष्ट्रिय स्तरबाट बलियो सहयोग प्राप्त हुने, विकास योजना तथा नीतिमा संस्कृति एकीकृत हुने, सांस्कृतिक र रचनात्मक उद्योगलाई बलियो बनाउने अपेक्षा गरिएको छ ।

 

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update