Kath khabar
इन्जेक्सन दिए लगत्तै पाटन अस्पतालमा उपचाररत २ बिरामीको मृत्यु

 

                 ललितपुर, कात्तिक २० ।  पाटन अस्पतालमा उपचाररत २ बिरामीको एन्टिबायोटिक औषधि दिए लगत्तै ज्यान गएको छ । शनिबार दिउँसो ४ः३० बजे २ प्रकारका औषधि इक्जेन्सनबाट दिए लगत्तै ओखलढुंगाकी ९६ वर्षीया जनमाया राई र मकवानपुरका ६७ वर्षीय कृष्ण बहादुर नगरकोटीको मृत्यु भएको हो । नगरकोटी १० कात्तिकमा र राई १६ कात्तिकमा उपचारका लागि अस्पताल भर्ना भएका थिए । शनिबार बिरामीको चेकजाँचका लागि राउन्डमा आएको नर्सको टोलीले बिरामीलाई इन्जेक्सनबाट औषधि दिएको थियो । 

अस्पताल प्रशासनका अनुसार दुवै बिरामीलाई उच्च निमोनिया संक्रमण देखिएको थियो । त्यसमध्ये राईको मुटुमा पनि समस्या देखिएको थियो । उच्च निमोनिया देखिएकाले इन्जेक्सनबाट हिपारिन र सेफ्राएसम एन्टिबायोटिक औषधि प्रयोग गरिएको थियो । हिपारिनले रगत सञ्चालन गर्न मद्दत पुर्‍याउँछ भने सेफ्राएसमले इन्फेक्सन कम गर्छ । पाटन अस्पतालका निर्देशक डा. रवि शाक्यका अनुसार यी औषधि निमोनियाका बिरामीलाई खुवाइने अत्यावश्यक तथा सामान्य औषधि हुन् । सामान्यतया यी औषधिले हानि गर्दैनन् । तर, हिपारिन र सेफ्रिएसम एन्टिबायोटिक इन्जेक्सन दिने बित्तिकै दुवैजनाको ज्यान गयो । 

शुरुमा ९७ वर्षीया राईलाई नर्सको टोलीले खुट्टाको साप्रा र पाखुराबाट इन्जेक्सन मार्फत औषधि दिएको थियो । त्यस लगत्तै नगरकोटीलाई एन्टिबायोटिक औषधिको इन्जेक्सन दिइयो । तर, एन्टिबायोटिक दिएको क्षणभरमै दुवैको ज्यान गयो । एन्टिबायोटिक दिनबित्तिकै दुवैजनाको शरीर काँप्न थालेको र तत्काल मृत्यु भएको आफन्तको आरोप छ । मृतक राईका नाति विसन राईले अस्पतालको लापरबाहीले हजुरआमाको मृत्यु भएको बताए ।

‘बिहान मैले नै खाना खुवाएको थिएँ, हाँस्ने बोल्ने गर्नुहुन्थ्यो, तर इन्जेक्सन लगाउने बित्तिकै, जिउ थरथर काँप्यो, हेर्दाहेर्दा उहाँको मृत्यु भयो,’ उनले भने, ‘उहाँसँगै बेड नम्बर १९१ मा रहनु भएका कृष्ण बहादुर नगरकोटी पनि ज्यान गयो ।’ उनले मृत्युको कारण इन्जेक्सन रहेको भन्दै स्वास्थ्यकर्मीलाई कारबाही हुनुपर्ने बताए । ‘इन्जेक्सन दिएको १/२ मिनेटमा हजुरआमाको मृत्यु भयो, त्यहीँ नजिकै रहनु भएका कृष्णबहादुर नगरकोटीको त ४/५ सेकेन्डमै सास गयो,’ उनले भने, ‘नर्सले हात र फिलामा २ थरी औषधि दिनुभएको थियो, दिने बित्तिकै दुवैजनाको शरीर काँपेको थियो ।’ 

अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले आइतबार दिउँसो अस्पताल परिसरमा प्रदर्शन गरेका थिए । उनीहरूले इन्जेक्सनमा दिएको औषधिकै कारण बिरामीको मृत्यु भएको भन्दै स्वास्थ्यकर्मीलाई कारबाही हुनुपर्ने माग राखेका छन् । मृतकका आफन्तले विरोध प्रदर्शन गरेपछि आइतबार दिउँसो अस्पताल परिसर अस्तव्यस्त बनेको थियो । झडप हुने अवस्था निम्तिए पछि जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले मृतकका आफन्त र अस्पताल प्रशासनसँग छलफल गरेको थियो । सो क्रममा अस्पताल प्रशासनले तत्काल छानबिन समिति गठन गर्ने, मृतकाको शरीर पोस्टमार्टम गर्ने लगायत निर्णय गरेको छ । 

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले इन्जेक्सनबाट औषधि दिएका कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले प्रहरीलाई जानकारी गराएको बताए । ‘घटनाबारे छानबिन समिति गठन गर्ने निर्णय भएको छ, यदि लापरबाही रहेछ भने कारबाही हुन्छ,’ उनले भने, ‘बिरामीलाई इन्जेक्सनबाट दुईवटा औषधि दिएको देखिन्छ ।’ 

तर, अस्पताल प्रशासनले नर्स तथा चिकित्सकको कुनै लापरबाही नहरेको दाबी गरेको छ । अस्पतालका निर्देशक डा. शाक्यले बिरामीको मृत्यु हुनुमा इन्जेक्सन नै मुख्य कारण नहुने भन्दै संयोग हुन सक्ने बताए । ‘संयोगले त्यस्तो भएको हुन सक्छ, उक्त औषधि प्रयोग नगर्ने भनेर सिज गरिसकेका छौँ, अब औषधिको गुणस्तरीयता हेर्छौँ,’ उनले भने, ‘यदि औषधिमा समस्या रहेछ भने स्वास्थ्यकर्मीलाई कारबाही हुन्छ, बाँकी जानकारी पोस्टमार्टम पछि पनि खुल्छ ।’ उनका अनुसार बिरामीलाई दिइएको उक्त औषधि अस्पतालको हाता भित्रै रहेको फार्मेसीबाट ल्याइएको थियो । फार्मेसीमा समेत उक्त औषधि सिज गरिएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १५:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update