Kath khabar
मधेश प्रदेशका १९ प्रतिशत बालबालिका अहिले पनि विद्यालय जानबाट वन्चित

 

                   रौतहट, कात्तिक २२ ।  पछिल्लो जनगणना २०७८ अनुसार मधेश प्रदेशको साक्षरता दर मात्र ६३ प्रतिशत रहेको छ भने ३७ प्रतिशत अहिले पनि निरक्षर नै रहेको देखिएको छ । साक्षर मध्ये ७२ प्रतिशत पुरुष र ५४ प्रतिशत महिला छन् । देशभरमा साक्षरतामा सबैभन्दा पछाडि रहेको मधेशका रौतहट, महोत्तरी र सर्लाही जिल्ला पर्छन् । रौतहटको ५७.७५ प्रतिशत, महोत्तरी ५७.७७ सर्लाही ६०.०१ प्रतिशत साक्षरता दर रहेको छ । 

शिक्षा विकास निर्देशनालयको तथ्यांक अनुसार प्रदेशमा ५ वर्ष माथिका ५४ लाख ७३ हजार ४७८ जनसंख्या रहेकोमा ३४ लाख ९१ हजार ६४४ जना मात्र साक्षर छन् भने १९ लाख ८१ हजार ८३४ जना अहिले पनि निरक्षर नै छ । प्रदेशका ३४ लाख ७७ हजार ४१३ साक्षर मध्ये १९ लाख ७९ हजार ४९९ जना पुरुष र १२ लाख १२ हजार ३२५ जना महिला रहेका छन् । यीमध्ये १४ हजार २३१ जना पढ्न सक्ने खालका साक्षर मात्र छन् ।

प्रदेशका १९ प्रतिशत बालबालिका अहिले पनि विद्यालय बाहिर छन् । तथ्यांक अनुसार १९ हजार ९२६ जना बालबालिका अहिले पनि विद्यालय जाँदैनन् । विद्यालय बाहिर रहनेमा दलित, मुस्लिम र विपन्न वर्गका बालबालिका निर्देशनालयले एक कार्यक्रममा प्रस्तुत गरेको तथ्यांकमा उल्लेख छ । तीमध्ये ४ हजारको हाराहारीमा फरक क्षमता भएका बालबालिका छन् ।

शिक्षा तथा मानव श्रोत विकासको पछिल्लो तथ्यांक अनुसार मधेश प्रदेशका ८ जिल्लामा प्रारम्भिक बाल विकास केन्द्र ४ हजार ७४६ र आधारभूत विद्यालय (कक्षा १ देखि ५ सम्म) ३ हजार ४२५ वटा रहेका छन् । यसैगरी कक्षा ६ देखि ८ सम्म अध्ययन अध्यापन हुने विद्यालयको संख्या १ हजार २०२, कक्षा ९ देखि १० सम्म पढाइ हुने विद्यालयको सङ्ख्या ५३९ तथा कक्षा ११ र १२ को पढाइ हुने विद्यालयको संख्या ३६६ रहेको छ ।

मधेश प्रदेशमा शिक्षकहरूको संख्या १९ हजार ३४० जना रहेकोमा कक्षा १ देखि ८ सम्ममा १६ हजार ६५४ र कक्षा ९ देखि १२ सम्ममा शिक्षकको संख्या २ हजार ६८५ रहेको शिक्षा विकास निर्देशनालयको तथ्यांकमा उल्लेख छ । मधेश प्रदेशको सामुदायिक विद्यालयहरूमा कक्षा १ देखि १२ सम्ममा १३ लाख ७७ हजार ८३७ विद्यार्थीहरू अध्ययनरत रहेका छन् । तीमध्ये कक्षा १ देखि ५ सम्ममा ८ लाख ४२ हजार १४१ जना, कक्षा ६ देखि ८ सम्ममा २ लाख ५४ हजार ७३४ जना विद्यार्थीहरू अध्ययनरत रहेका छन् । माध्यमिक तहको कक्षा ९ देखि १० सम्म १ लाख ९ हजार ७७४ जना र कक्षा ११ देखि १२ सम्मको कक्षामा ३७ हजार ९२७ विद्यार्थीहरू अध्ययनरत रहेका छन् ।

मधेश प्रदेशको आर्थिक सर्वेक्षण अनुसार ५० प्रतिशत श्रमिक अशिक्षित छन् । पछिल्लो पटक प्रदेश सरकारले सार्वजनिक गरेको तथ्यांक अनुसार प्रदेशमा १९ लाख ८७ हजार श्रमिकमध्ये लगभग ५० प्रतिशत अशिक्षित छन् ।

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update