Kath khabar
ट्याक्सीमा छुटेको ७ तोला बराबरको सुनचाँदीका गहना धनिलाई हस्तान्तरण



                  काठमाडौ, मंसिर ३ । काठमाडौंको जडिबुटीबाट जोरपाटीस्थित जम्मुडाँडासम्म जाने क्रममा हिजो दिउँसो ट्याक्सीमा छुटेका सुनचाँदीका गहना खोजी गरेर आज ट्राफिक प्रहरीले धनीलाई बुझाएको छ ।

ट्याक्सीमा छुटेका सुनचाँदीका गरगहना सहितको झोला खोजी गरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको खोजतलास शाखाका प्रहरी निरीक्षक विशाल सिंहले आज धनीलाई हस्तान्तरण गर्नु भएको हो ।

जडिबुटीबाट जोरपाटी जम्मुडाँडासम्म जाने क्रममा बा २ ज ३४ ५३ नम्बरको ट्याक्सीमा करिब ७ तोला बराबरको सुन र ४ तोलाका चाँदीका गहना भएको झोला छुटेको भनी रामेछापकी संगिता तामाङले ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा खबर गरेकी थिइन् । प्राप्तक खबर तथा लिखित निवेदनको आधारमा ट्राफिक प्रहरीले सिसिटिभी क्यामेराको सहायतामा खोजी गरीरहेको समयमा ट्याक्सी चालक रोशन वयलकोटी स्वयम् सुनका गहना सुरक्षित लिएर आज बिहान ट्राफिक प्रहरी वृत्त गौशालामा सम्पर्क गर्न आएका थिए ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको खोजतलास शाखाले सवारी साधनमा छुटेको धनमाल प्राप्त निवेदनका आधारमा खोजी गरेर धनीलाई बुझाउँदै आएको छ । गत साउनदेखि हालसम्म १ सय ३३ जना व्यक्तिले दिएको निवेदनको आधारमा ९९ जनाको धनमाल खोजी गरी ४० लाख ६ हजार ६ सय २५ मुल्य बराबरको सामान सम्बन्धित धनिलाई बुझाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनु भयो ।

आफ्नो धनमालको सुरक्षा गर्न र सवारी साधनमा सामान छुटेमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न तथा नजिकैको प्रहरी कार्यालयमा लिखित निवेदन बुझाउन पनि प्रहरी वरिष्ठ उपरीक्षक भट्टले आग्रह समेत गर्नु भएको छ ।

 

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update