Kath khabar
आईसिसी एकदिवसीय विश्वकप : भारतले अस्ट्रेलियालाई दियो २४१ रनको लक्ष्य


                अहमदाबाद, मंसिर ३ ।  विराट कोहली र केएल राहुलको अर्धसतक प्रेरित भारतले आईसिसी एकदिवसीय विश्वकप २०२३ फाइनल जित्न अस्ट्रेलियालाई २४१ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा टस हारेको भारतले शुरुवाती ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा अल आउट हुँदै २४० रन बनाएको हो । 

भारतका राहुलले १०७ बलमा सर्वाधिक ६६ रन बनाए । उनले मात्र १ चौका हिर्काए । तेस्रो नम्बर क्रिजमा आएका विराट कोहलीले ६३ बलमा ४ चौका सहित ५४ रनको योगदान गरे । 

ओपनर रोहित शर्माले ३१ बलमा ४७ रन बनाएर आउट भए । ४ चौका र ३ छक्का हिर्काएका रोहितलाई ग्लेन म्याक्स्वेलले ट्राभिस हेडबाट क्याच आउट गराए । सुर्य कुमार यादवले १८ रनको योगदान गरेका हुन् । 

अस्ट्रेलियाका मिचेल स्टार्सले १० ओभरमा ५५ रन खर्चदै ३ विकेट लिए । कप्तान प्याट कमिन्स र जस हेजलवुडले  समान २ विकेट लिए । 

भारत घरेलु मैदानमा तेस्रो पटक विश्वकप उचाल्ने दाउँमा छ । अस्ट्रेलिया कीर्तिमानी छैटौं पटक उपाधि जित्ने लक्ष्यमा छ ।यस अघि भारत १० खेलमा अपराजित रहँदै फाइनलमा स्थान बनाएको थियो ।  शुरुवाती २ खेल हारेको अस्ट्रेलिया त्यसपछिका ८ खेलमा अपराजित छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update