Kath khabar
६४ लाख पुरस्कार राशिको सूर्य नेपाल गल्फ टुर २०२३/२४ को नयाँ सिजनमा ८ प्रतियोगिता मुलुकभरी हुने

 

                 काठमाडौं, मंसिर ४ ।  प्रोफेसनल गल्फर्स एसोसिएसन नेपाल (एनपिजीए)ले सूर्य नेपाल गल्फ टुर २०२३/२४ सिजनको क्यालेन्डर सार्वजनिक गरेको छ । सूर्य नेपाल प्रालिद्वारा प्रायोजित नयाँ सिजनमा कुल ६४ लाख ३६ हजार १ सय ५० रुपैयाँ पुरस्कार रहेको जनाएको छ । यस सिजनमा कुल ८ प्रतियोगिता सञ्चालन हुने एनपिजिएका महासचिव दीपक आचार्यले जानकारी दिए । उनका अनुसार यसपटक पुरस्कार धनराशिमा ५ प्रतिशतले वृद्धि भएको छ । 

सिजनको शुरुवातमा सूर्य नेपाल सेन्ट्रल ओपनबाट हुनेछ । गोकर्ण गल्फ कोर्समा आज देखि शुरु हुने सूर्य नेपाल सेन्ट्रलमा ७२ होलको ४ दिनसम्म प्रतियोगिता चल्नेछ । ३३ प्रोफेसनल गल्फरले कुल ८ लाख ४० हजार नगद पुरस्कारका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रोफेसनलसँगै ४ एमेच्योर खेलाडीले पनि सहभागिता हुने आचार्यले बताए । दोस्रो दिनको समाप्तीमा उत्कृष्ट २१ प्रोफेसनल खेलाडीले कट बनाउनेछन् । विजेताले १ लाख ४५ हजार प्राप्त गर्नेछन् । उपविजेताले ९४ हजार र तेस्रो स्थानमा रहने गल्फरले ७० हजार पुरस्कार प्राप्त गर्नेछन् । साथै, कट बनाउने अन्य प्रोफेसनल गल्फरले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् ।

गल्फ टुरको दोस्रो प्रतियोगिता सूर्य नेपाल एनपिजिए म्याच प्ले रोयल नेपाल गल्फ क्लबमा ८-१० पुससम्म चल्नेछ । यो प्रतियोगितामा गत सिजनको अर्डर अफ मेरिटका आधारमा १६ खेलाडीले नगद २ लाख ५० हजारका लागि प्रतिस्पर्धा गर्नेछन् । तेस्रो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपन पोखरास्थित हिमालयन गल्फ कोर्समा १० देखि १३ माघसम्म चल्नेछ । यस प्रतियोगिताको कुल पुरस्कार धनराशि ८ लाख ४० हजार रुपैयाँ रहेको छ । 

रोयल नेपाल गल्फ क्लबमा चौथो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन २३ देखि २६ माघसम्म सञ्चालन हुनेछ । यो प्रतियोगितामा गल्फरहरूले ७ लाख ३ हजार ५ सय नगद पुरस्कारका लागि प्रतिस्पर्धा गर्नेछन् । सूर्य नेपाल टुरअन्तर्गत पाँचौँ प्रतियोगिता धरानमा हुनेछ । धरान गल्फ क्लबमा हुने सूर्य नेपाल इस्टर्न ओपनमा ८ लाख ४० हजार नगद पुरस्कार रहेको छ। 

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update