Kath khabar
कोप-२८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आज यूएई जाँदै

 

                            काठमाडौं, मंसिर १३ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ प्रस्थान गर्दैछन् ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औं सम्मेलन (कोप-२८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दाहाल आज संयुक्त अरब इमिरेट्सको दुबई जान लागेका हुन् । कोप-२८ मङ्सिर १४ देखि २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख) सम्म दुबईमा हुँदैछ।

प्रधानमन्त्री प्रचण्ड डिसेम्बर १ देखि २ सम्म हुने जलवायु शिखर सम्मेलनको उच्चस्तरीय बैठकमा सहभागी हुनेछन् । डिसेम्बर २ मा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री प्रचण्ड संयुक्त अरब इमिरेट्सको ५२औं ‘युनियन डे’को अवसरमा आयोजना गरिने कार्यक्रममा सहभागी हुनेछन् । उनी यूएईले आयोजना गर्ने जायेद सस्टेनेबिलिटी प्राइज अवार्ड समारोहमा पनि सहभागी हुने मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्ड डिसेम्बर २ मा सम्मेलनको साइडलाइनमा आयोजना गरिने ‘कल अफ द माउन्टेनः हु सेभ्स अस फ्रम दी क्लाइमेट क्राइसीस ?’ कार्यक्रममा होस्टको रूपमा रहनेछन् । कार्यक्रममा जलवायु परिवर्तनका सम्बन्धमा नेपालले आवाज उठाउनेछ । सम्मेलनको साइडलमा प्रधानमन्त्रीले विभिन्न देशका राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्री प्रचण्डले अबुधाबीस्थित नेपाली राजदूतावासको भ्रमण, नेपाली समुदायसँग अन्तरक्रिया र नेपाल–यूएई व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीको साथमा उनकी छोरी गंगा दाहाल, वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतो र अन्य वरिष्ठ अधिकारीहरू पनि जानेछन् । डिसेम्बर ३ मा प्रधानमन्त्रीको स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update