Kath khabar
'समुदायको नेतृत्वमा एड्सको अन्त्य’ भन्ने नारासहित आज देशभर विश्व एड्स दिवस मनाइँदै

 

                        काठमाडौं, मंसिर १५ । आज डिसेम्बर १, विश्व एड्स दिवस । विभिन्न सचेतनामूलक कार्यक्रम गरी ३६औँ विश्व एड्स दिवस नेपालमा पनि मनाईंदैछ ।

सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ मा यो दिवस मनाउने गरिएको छ। एचआइभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाको लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जगाउन यो अभियान सुरु गरिएको हो।

‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारासहित देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले यससम्बन्धी चेतना र सन्देशमूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदैछ ।

सन् १९८१ मा पहिलो एचआइभी सङ्क्रमित फेला परेदेखि सन् २०२२ को अन्त्यसम्ममा आठ करोड ५६ लाख जनामा सङ्क्रमण भएको छ । सङ्क्रमणका कारण चार करोड चार लाखजनाको मृत्यु भइसकेको छ । विश्वमा हरेक दिन तीन हजार ६ सय मानिस एचआइभी सङ्क्रमित हुने गरेका छन् ।

केन्द्रका अनुसार नेपालमा सन् २०२२ को अन्त्यसम्म ३० हजार व्यक्तिमा एचआइभी सङ्क्रमण भएको अनुमान छ । नेपालमा हरेक दिन एकजना एचआइभीबाट सङ्क्रमित हुने गरेको छ ।नेपालमा पहिलो पटक सन १९८८ मा एचआईभीरएड्सको पहिलो व्यक्ति पत्ता लागेको थियो । एड्सको समयमै पहिचान भएर उपचार भए एड्स बिरामी पूर्णतया ठिक हुन सक्छन् भनेर चिकित्सकहरु बताउँछन् ।

नेपालमा एड्स सम्वन्धि उपचारका लागि देशका विभिन्न स्थानमा ५२ केन्द्र स्थापना गरी सरकारले उपचार तथा परामर्श उपलव्ध गराउँदै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update