Kath khabar
सत्यनारायण मानन्धरको ‘ङेङापा झ्यःया दरबार’ बोलको गीत हेर्ने दर्शक बढ्दै



                        काठमाडौं, मंसिर १५ । नेपालभाषाको ‘ङेङापा झ्यःया दरबार’ बोलको गीत चार दिनमै ४८ हजार भन्दा बढी दर्शकले हेरिएको छ। भक्तपुरको विश्वप्रसिद्ध ५५ झ्याल दरबार तथा तत्कालीन राजा रणजित मल्लको प्रेम सम्बन्धलाई वर्णन गरी तयार गरिएको गीतलाई युट्युबमार्फत हेर्ने दर्शनहरु दिनानुदिन बढिरहेको छ ।

जनकवि दुर्गालाल श्रेष्ठको रचना र न्ह्यू बज्राचार्यको संगीतमा तयार गरिएको गीतलाई सत्यनारायण मानन्धरले गाएका हुन् । उनले यसअघि पनि थुप्रै गीत गाएका छन् । गीत र संगीत क्षेत्रमा दशकौं अनुभव संगालेर फरक विधाका गीतमा आवाज भरिसकेका मानन्धरले १७ औं शताब्दीको नेपाल भारत दौत्य सम्बन्ध प्रतिबिम्बित हुनेगरी दुई देशका प्रेमी प्रेमिकाको विषयमा तयार गरिएको गीत गाएका हुन् ।

तत्कालीन भारतको बेतियाबाट आएकी वृद्धिलक्ष्मी र भादगाउँका महाराज रणजित मल्लको प्रेम सम्बन्ध, अलौकिक ५५ झ्यालको दरबार, भादगाउँकै विभिन्न ठाउँहरुको विषय गीतमा वर्णन गरिएको छ । केही दिन अघि औपचारिक कार्यक्रममार्फत प्रिमियर गरिएको म्युजिक भिडियोको लागि भक्तपुरकै विश्व सम्पदामा सूचिकृत विभिन्न ठाउँमा सुटिङ गरिएको छ ।

रजनी केसीले निर्माण गरेको म्युजिक भिडियोलाई रियल टाइम स्वरुपमा ढाल्न निर्देशक विश्वास बज्राचार्य र सहनिर्देशक विजनराज बज्राचार्यले निकै मिहिनेत गरेको देखिन्छ । काठमाडौंको जमलस्थित डोरेमी स्टुडियोमा रेकर्ड गरिएको गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ भने गीतको लागि श्याम बागदासले मिक्सिङ गरेका छन् । गीतलाई भानुभक्त ढकालले रेकर्ड गराउन प्राविधिक सहयोग गरेका छन् । म्युजिक भिडियोमा कलाकार कर्मा शाक्य र रोजिना सुवालया मुख्य अभिनय रहेको छ ।

केही दिनअघि भक्तपुरमा औपचारिक कार्यक्रममार्फत प्रिमियर गरिएको गीतलाई लगत्तै युट्युबमा अपलोड गरिएको हो । कार्यक्रममा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति, जनकवि दुर्गालाल श्रेष्ठ, स्मारक संरक्षण एवम् दरबार हेरचाह अड्डा भक्तपुरका प्रमुख अरुणा नकर्मी, संस्कृति अध्येता ओम धौभडेल, म्युजिक भिडियोकी निर्माता रजनी केसी, निर्देशक विश्वास बज्राचार्य, नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, कवि विप्लप प्रतिक, लेखक प्रकाश सायमी, लक्ष्मण पलिखेल लगायतको सहभागिता सहभागिता थियो ।


 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १४:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update