Kath khabar
सातौँ दक्षिण एसियाली कराँते : नेपाललाई पहिलो दिन १२ स्वर्ण 


                   काठमाडौं, मंसिर १७ ।  नेपालले सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसिपको पहिलो दिन १२ स्वर्ण पदक जितेको छ । शनिबार त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको खेलमा छिमेकी भारतले १५ स्वर्ण पदक जितेको छ । पहिलो दिन २९ स्वर्णको टुंगो लाग्दा श्रीलंका (एनओसी टिम) र बंगलादेशले समान एक स्वर्ण पदक प्राप्त गरेका छन् ।

नेपाल कराते महासंघद्वारा आयोजित प्रतियोगिताको क्याडेट महिला एकल कातामा प्रजिस्मा श्रेष्ठले नेपाललाई पहिलो स्वर्ण दिलाएकी हुन् । प्रजिस्माको स्वर्ण प्रतियोगिताकै पहिलो स्वर्ण हो ।

प्रजिस्माले फाइनलमा बंगलादेशकी मारिमास्वे नाइलाई पराजित गरिन् । उक्त स्पर्धाको पुरुषमा नेपालका रेहान जावेदले बंगलादेशका उथेयनलाई हराउँदै शीर्ष स्थान हात पार्न सफल रहे ।

महिला ६८ केजीमुनि नेपालकी आशिका राईले भारतकी पर्विन साइरालाई निराश पार्दै स्वर्ण जित्न सफल भएकी हुन् । महिला ४७ केजीमुनि नेपालकी पोर्सिया चौधरीले बाजी मारिन् । क्याडेटको पुरुष ४५ केजीमुनि बंगलादेशका मार्मा पहिलो भए । फाइनलमा नेपालका छत्र थापा ‘मेडिकल डिस्क्वालिफाई’ भएका थिए ।

पुरुष ५२ केजीमुनि नेपालका ऋतिक लामाले बंगलादेशका सौकतअली सैद मोहम्मद माथि जित निकाल्दै शीर्ष स्थान कब्जा गरे । पुरुष ५७ केजीमुनि फाइनलमा नेपालका आकाश सैजुवालले भारतका जियान चौधरी विरुद्ध जित आत्मसात् गर्दै पहिलो भए ।

पुरुष ६३ केजीमुनि भारतका गगनदीप माथुरले नेपालका साहिल राईलाई पराजित गरी स्वर्ण जिते । यु-२१ महिला ४५ केजी मुनि नेपालकी पार्वती गुरुङ च्याम्पियन बनिन् । पार्वतीले फाइनलमा बंगलादेशकी अर्पा सलिहाको चुनौती समाप्त पारिन् ।

महिला ५० केजी मुनि नेपालकी पुष्पका लामाले स्वर्ण चुमिन् । महिला ५५ केजी मुनि नेपालकी सोनु श्रेष्ठले स्वर्ण जित्दा भारतकी दीपिकाले रजतमा चित्त बुझाइन् । पुरुष  ६० केजी मुनि नेपालका दर्जी भण्डारीले श्रीलंकाका आरके मदुरंगालाई पन्छाउँदै स्वर्ण पदक जिते ।

यु-२१ कै पुरुष ५० केजी मुनि नेपालका अञ्जन मगरले श्रीलंकाका मधुसन, ५५ केजीमा नेपालका मार्सल गर्बुजाले पाकिस्तानका उस्मान सफिकलाई पराजित गरी स्वर्ण हात पारे ।

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update