Kath khabar
कपनको औषधि पसलबाटै लागूऔषध कारोबार, कानुन अनुसार औषधि पसल सञ्चालन गर्न काठमाडौं महानगरपालिकाको निर्देशन

 

                  काठमाडौं, मंसिर २० ।  औषधि व्यवस्थापन विभाग र नेपाल प्रहरीले अवैध रूपमा औषधि बिक्री गर्ने एक फार्मेसीलाई शिलबन्दी गरेको छ ।

विभागको टोलीले कपन क्षेत्रका औषधि पसलबाट लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा मङ्गलबार नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिसँगको सहकार्यमा गरेको बजार अनुगमनका क्रममा अवैध रूपमा औषधि बिक्री वितरण गर्ने बूढानीलकण्ठ नगरपालिका-१० आदर्शनगर चोकस्थित लाइफ केयर फर्मालाई शिलबन्दी गरेको हो ।

कपन क्षेत्रका औषधि पसलबाट लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा मङ्गलबार नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिसँगको सहकार्यमा विभागले अनुगमन गरेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले बूढानीलकण्ठ क्षेत्रका चारवटा औषधि पसल अनुगमन गर्दा अवैध रूपमा औषधि बिक्री गर्ने लाइफ केयरमा शिलबन्दी गरिएको जानकारी दिए ।

विभागको टोलीले उक्त पसलबाट विभिन्न ३६ प्रकारका औषधि समेत बरामद गरेको छ । टोलीले ओखलढुङ्गा फर्मा, जेन्स हेल्थ केयर सेन्टर र सुर्याम्स फार्मेसीलाई सचेत गराएको प्रवक्ता ढुङ्गेलले बताए ।

काठमाडौं महानगरपालिकाले कानुन अनुसार औषधि पसल सञ्चालन गर्न निर्देशन दिएको छ । महानगरका मेयर बालेन्द्र शाहले दर्ता नभएका औषधि पसललाई नियमानुसार आउँदो मङ्सिर २९ गतेभित्र दर्ता हुन तथा डाक्टरको सिफारिस (प्रेस्किप्सन) अनुसार मात्रै औषधिको कारोबार गर्न आज बुधवार सामाजिक सञ्जाल मार्फत निर्देशन दिनुभएको छ ।

मेयर शाहले महानगर भित्र सञ्चालनमा रहेका कतिपय औषधि पसल दर्ता नभएका, अनधिकृत व्यक्तिबाट औषधि बिक्री भइरहेको, औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधि समेत बिक्री गरेको र डाक्टरको सिफारिस (प्रेस्किप्सन) विना औषधि बिक्री भइरहेको लगायतका गुनासा आइरहेका उल्लेख गर्नुभएको छ । महानगर आमनागरिकको स्वास्थ्यका लागि संवेदनशील रहेको भन्दै उहाँले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन विभिन्न सुधारात्मक काम गर्दै आएको बताउनु भएको छ । सुधारका प्रयास भइरहे पनि जनस्वास्थ्यमा लापर्बाही भएको भेटिएको मेयर शाहको भनाइ छ ।

नार्कोटिक औषधिको प्रचलित ऐन कानुनअनुसार बिक्री नगरिएको र ती औषधिको आवश्यक अभिलेख नराख्ने गरिएको, औषधि पसल व्यवस्थापन नगरिएको, महानगरपालिकाको स्वास्थ्य विभागबाट इजाजत पत्र नलिई औषधि पसल सञ्चालनमा रहेका गुनासा आएका छन् । साथै महानगरको अनुगमनमा पनि यस्ता गुनासा आएका हुँदा कानुन अनुसार काम गर्न भनिएको छ ।

मङ्सिर २९ गतेभित्र महानगरपालिका क्षेत्रभित्र सञ्चालित औषधि पसलले सुधारात्मक काम नगरेमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (क) ९ तथा महानगरपालिका जनस्वास्थ्य ऐन २०८० को दफा २६ (घ) अनुसार स्वास्थ्य विभागबाट अनुगमन हुने र महानगरपालिकाको जनस्वास्थ्य ऐन २०८० को दफा ५३ अनुसार औषधि पसल बन्द गर्नेसम्मको कारबाही गरिने मेयर शाहले चेतावनी दिनुभएको छ । यदि कानुन विपरीत काम भएको पाइएमा महानगरपालिकाको स्वास्थ्य विभागमा उजुरी गर्न वा महानगरपालिकाको गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र (कल सेन्टर) को निःशुल्क टोल फ्री नम्बर १६६००१०५५११ वा ११८० मा सम्पर्क गरी जानकारी दिन पनि महानगरवासीलाई अनुरोध गरिएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update