Kath khabar
नेपाल सुपर लिग : चितवन र बुटवलको रोमाञ्चक बराबरी आज झापा र वीरगञ्ज खेल्दै 

 

                   काठमाडौं, मंसिर २२ ।  नेपाल सुपर लिग (एनएसएल) मा चितवन एफसी र बुटवल लुम्बिनी एफसीले रोमाञ्चक बराबरी खेलेका छन् ।

बिहीवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा चितवन र बुटवलले १-१ गोलको बराबरी खेल्दै अङ्क बाँडे । दुवै गोल दोस्रो हाफमा भएको हो । खेलको ४८ औँ मिनेटमा उत्सव राईले गोल गर्दै चितवनलाई अग्रता दिलाएका थिए । तर खेलको ९० औँ मिनेटमा बुटवलका स्टेफाने बिनोङले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।

यो बराबरीसँगै चितवन ४ खेलमा ५ अङ्क सहित तालिकाको पाँचौँ स्थानमा छ । बुटवल उति नै खेलमा ४ अङ्क सहित छैटौँ स्थानमा उक्लिएको छ ।

नेपाल सुपर लिग (एनएसएल) मा आज शुक्रवार झापा र वीरगञ्ज दुवै टोलीलाई प्लेअफमा पुग्ने सम्भावना कायम राख्न जित्नैपर्ने दबाब छ । यी दुवै नवप्रवेशी टोली हुन् । झापा र वीरगञ्ज प्रतियोगितामा जित विहीन छन् । खेल बेलुकी ५ बजे त्रिपुरेश्वरको दशरथ रङ्गशालामा शुरु हुनेछ ।

झापा ३ खेलमा २ बराबरी र १ हार सहित २ अङ्क जोड्दै तालिकाको आठौँ स्थानमा छ । वीरगञ्ज उति नै खेलमा २ हार र १ बराबरीसँगै तालिकाको पुछारमा छ ।

यही मङ्सिर ८ गते देखि शुरु भएको दोस्रो संस्करणको एनएसएलमा ९ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा धनगढी एफसी, ललितपुर सिटी एफसी, पोखरा, काठमाण्डौ रेजर्स एफसी, एफसी चितवन, इलाम, एफसी बुटवल लुम्बिनी, झापा एफसी र वीरगञ्ज युनाइटेड एफसी छन् । सबै टोलीले एक अर्कासँग खेलेपछि शीर्ष २ टोलीले क्वालिफायर र तेस्रो र चौथो टोलीले इलिमिनेटर खेल्ने छन् ।

२०७८ सालमा भएको फ्रेन्चाइज लिगको पहिलो संस्करणको उपाधि काठमाण्डौले जितेको थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update