Kath khabar
यू–१९ एसिया कप आजदेखि, पाकिस्तानसँगको खेलमा नेपालले टस हारेर पहिला ब्याटिङ गर्दै

 

                  यूएई,  मंसिर २२ ।  एसीसी १९ वर्षमुनिको एसिया कप आज शुक्रवार देखि संयुक्त अरब इमिरेट्स (यूएई) मा शुरु हुँदैछ ।

प्रतियोगिताअन्तर्गत नेपाली युवा क्रिकेट टोलीले पहिलो खेलमा आज पाकिस्तानसँग खेल्दैछ । खेल बिहान सवा ११ बजे शुरु हुनेछ । आजै अर्को खेलमा अफगानिस्तान र भारत पनि खेल्दैछन् ।

प्रतियोगितामा नेपाल सहित ८ देश सहभागी छन् । नेपाल रहेको समूह 'ए' मा भारत, पाकिस्तान र अफगानिस्तान छन् । त्यस्तै समूह 'बी' मा घरेलु टोली यूएई, जापान, श्रीलङ्का र बङ्गलादेश छन् ।

नेपालको १९ वर्षमुनिको टोलीको इतिहास हेर्ने हो भने भारत, न्युजिल्यान्ड जस्ता टेस्ट टोलीलाई हराएको छ । सन् २०१७ मा नेपालले भारतलाई हराएको थियो । तर अहिलेसम्म नेपाल एसिया कपको फाइनलमा पुग्न सकेको छैन ।

नेपालका मुख्य प्रशिक्षक जगत टमाटाले भारत र पाकिस्तानसँग खेल्न निकै उत्साहित रहेको बताएका छन् । नेपालले दोस्रो खेल पर्सि आइतवार अफगानिस्तानसँग र तेस्रो खेल २६ गते भारतसँग खेल्नेछ ।

मङ्सिर २९ गते सेमिफाइनल खेल हुनेछ । सेमिफाइनलमा समूह 'ए' को विजेता र समूह 'बी' को उपविजेता तथा समूह 'बी' को विजेता र समूह 'ए' को उपविजेता खेल्नेछन् । सेमिफाइनलमा पुग्न कम्तीमा २ खेल जित्नुपर्ने हुन्छ । प्रतियोगिताको फाइनल खेल आउँदो पुस १ गते हुनेछ ।

एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेटमा पाकिस्तानसँगको खेलमा नेपालले टस हारेको छ । दुबईको आईसीसी एकेडेमी ओभल-२ मा टस जितेर पाकिस्तानका कप्तान साद बेगले बलिङ गर्ने निर्णय गर्दै नेपाललाई ब्याटिङको निम्तो दिएका हुन् ।

यो प्रतियोगिताको सबै खेलको लाइभ एसीसीको युट्युब च्यानलमा हेर्न सकिनेछ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update