Kath khabar
यू-१९ एसिया कप : नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य

 

                 काठमाडौं, मंसिर २२ ।  एसीसी १९ वर्ष मुनिको एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानलाई १५३ रनको लक्ष्य दिएको छ ।

यूएईमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४७ ओभर २ बलमा १५२ रन बनाउँदा अलआउट भयो । नेपालका विकेट किपर उत्तम थापा मगरले अर्धशतक बनाए । उनी ७६ बलमा ५१ रन बनाएर आउट भए । त्यस्तै दिपेश कंडेल ३१ र अर्जुन कुमाल २१ रनमा आउट भए । सुवास भण्डारी ८ रनमा अविजित रहे । त्यस्तै विपिन रावल ७ रनमा, आकाश त्रिपाठी ६ रनमा, आकाश चन्द ५ रनमा, गुलशन झा र विशाल विक्रम केसी समान १ रनमा तथा कप्तान देव खनाल १३ बलमा शून्य रनमा आउट भए ।

पाकिस्तानका तीव्र गतिका बलर मोहम्मद जिशानले ६ विकेट लिए । अमिर हसनले २ विकेट लिए । पाकिस्तानले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ । प्रतियोगितामा नेपाल सहित ८ देश सहभागी छन् । नेपाल रहेको समूह ‘ए’ मा भारत, पाकिस्तान र अफगानिस्तान छन् । त्यस्तै समूह ‘बी’ मा घरेलु टोली यूएई, जापान, श्रीलंका र बंगलादेश छन् ।

नेपालले दोस्रो खेल पर्सि आइतवार अफगानिस्तानसँग र तेस्रो खेल २६ गते भारतसँग खेल्नेछ । मंसिर २९ गते सेमिफाइनल खेल हुनेछ । प्रतियोगिताको फाइनल खेल आउँदो पुस १ गते हुनेछ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update