Kath khabar
एसिसी यू-१९ - अफगानिस्तानले दियो नेपाललाई २६२ रनको लक्ष्य

 

                      दुबई, मंसिर २४ ।  एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेटमा अफगानिस्तानले नेपाललाई २६२ रनको लक्ष्य दिएको छ ।

दुबई आईसीसी एकेडेमी ग्राउन्ड-२ मा टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तान ४९ ओभर ३ बलमा २६१ रनमा अल आउट भयो । अफगानिस्तानका जम्शिद जद्रानले शतक बनाए । उनी १५२ बलमा १०६ रन बनाएर रिटायर्ड आउट भए । यस्तै नुमन शाहले ६० रन बनाए । बलिङ तर्फ नेपालका हेमन्त धामी, गुल्शन झा र सुवाश भण्डारीले समान २ विकेट लिए । 

नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो । यस्तै अफगानिस्तान भारतसँग ७ विकेटले पराजित भएको थियो ।

प्रतियोगितामा ८ देश सहभागी छन् । नेपाल रहेको समूह 'ए' मा भारत, पाकिस्तान र अफगानिस्तान छन् । त्यस्तै समूह 'बी' मा घरेलु टोली यूएई, जापान, श्रीलङ्का र बङ्गलादेश छन् ।

मङ्सिर २९ गते सेमिफाइनल खेल हुनेछ । सेमिफाइनलमा समूह 'ए' को विजेता र समूह 'बी' को उपविजेता तथा समूह 'बी' को विजेता र समूह 'ए' को उपविजेता खेल्नेछन् । सेमिफाइनलमा पुग्न कम्तीमा २ खेल जित्नुपर्ने हुन्छ । प्रतियोगिताको फाइनल खेल आउँदो पुस १ गते हुनेछ ।

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update