Kath khabar
नेपाल सुपर लिग : लुम्बिनीलाई हराउँदै झापाको पहिलो जित, आज वीरगञ्ज र इलाम खेल्दै

 

                     काठमाडौं, मंसिर २७ ।  नेपाल सुपर लिग (एनएसएल) मा एफसी झापाले पहिलो जित निकालेको छ ।

मङ्गलवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा झापाले एफसी बुटवल लुम्बिनीलाई १-० गोलले हरायो । झापाले खेलको पहिलो हाफमा गरेको गोल नै निर्णायक भयो । झापाका जोर्गे पेरेज सान्चेजले खेलको ३८ औँ मिनेटमा गोल गरेका थिए ।

जितसँगै झापा ५ खेलमा ६ अङ्कका साथ तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । झापाले यसअघिका ४ खेलमा १ मा हार र ३ मा बराबरी खेलेको थियो । पराजित बुटवल लुम्बिनी ६ खेलमा ७ अङ्क सहित तालिकाको पाँचौँ स्थानमा यथावत् छ । उसले यसअघि २ जित, २ हार र १ बराबरी खेलेको थियो ।

नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम खेल्दै छन् । खेल बेलुका ५ बजे दशरथ रङ्गशालामा हुनेछ । अङ्क तालिकामा वीरगञ्ज पुछारमा छ भने इलाम पुछार भन्दा माथि छ । ४ अङ्क जोडेको इलामले अहिलेसम्म ५ खेल खेलेकोमा १ मा जित तथा १ मा बराबरी र ३ मा हार व्यहोरेको छ । 

यस्तै, वीरगञ्जले ४ खेलमा २ मा बराबरी र २ मा हार ब्यहोरेको छ । वीरगञ्जको मात्र २ अङ्क छ । 

दोस्रो संस्करणको एनएसएलमा ९ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा धनगढी एफसी, ललितपुर सिटी एफसी, पोखरा, काठमाडौं रेजर्स एफसी, एफसी चितवन, इलाम, एफसी बुटवल लुम्बिनी, झापा एफसी र वीरगञ्ज युनाइटेड एफसी छन् । सबै टोलीले एक अर्कासँग खेलेपछि शीर्ष २ टोलीले क्वालिफायर र तेस्रो र चौथो टोलीले इलिमिनेटर खेल्ने छन् ।

२०७८ सालमा भएको फ्रेन्चाइज लिगको पहिलो संस्करणको उपाधि काठमाडौंले जितेको थियो ।

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १३:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update