Kath khabar
नेपाल सुपर लिग : इन्ज्युरी समयको पेनाल्टी गोलसंगै वीरगञ्जको विवादास्पद पहिलो जित 

 

                  काठमाडौं, मंसिर २८ ।  नेपाल सुपर लिग (एनएसल) मा वीरगञ्ज युनाइटेड एफसीले पहिलो जित निकालेको छ ।

हिजो बुधवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा वीरगञ्जले स्पोर्टिङ इलाम एफसीलाई २-१ गोलले हरायो । इन्ज्युरी समयको आठौँ मिनेटमा गरेको पेनाल्टी गोलमा वीरगञ्ज विजयी भएको हो ।

खेलको पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको थियो । खेलको १५ औँ मिनेटमा आशिष चापागाईँको गोलमा इलामले अग्रता लिएको थियो । खेलको ३३ औँ मिनेटमा वीरगञ्जका भिसोन गुरुङले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याएका थिए । 

खेलको अन्त्य निकै तनावपूर्ण रह्यो। हार सहन नसकेको इलाम खेल सकिए पछि रेफ्री माथि जाइलाग्यो। मार्की तथा कप्तान विकेश कुथु रेफ्रीको निर्णयमा आपत्ति जनाउन पुगे। विकेशलाई फिफा रेफ्री कविन ब्यञ्जनकारले रातो कार्ड देखाए। विकेशले रेफ्री ब्यञ्जनकारलाई छातीले घकेलेका थिए। यसपछि बाँकी खेलाडी पनि रेफ्री माथि जाइलागेका थिए।

आयोजकले सुरक्षाकर्मीलाई मैदान भित्र पठाएर स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरेको थियो। रेफ्रीलाई बाक्लो सुरक्षा घेरा बीच टनेलबाट भित्र प्रवेश गराउने समय आक्रोशित समर्थकले बोतल प्रहार गरेका थिए। रेफ्री ब्यञ्जनकारलाई भने बोत्तलले लागेको थियो। असिस्टेन्ट रेफ्रीद्वय मधुकर आचार्य र सहदेव श्रेष्ठले भने छल्न भ्याए। फोर्थ रेफ्री श्याम दनुवार थिए। उनले पनि इलामको बेन्चलाई साम्य पार्न सकेनन्। 

२ हजार समर्थक माझ खेल चलिरहेँदा रेफ्री ब्यञ्जनकारले २ रातो सहित ३ पहेँलो कार्ड देखाएका थिए। रातो कार्ड बेहोर्नेमा गोलकिपर विकेशसँगै इलामका गोलकिपर प्रशिक्षक उज्वल मानन्धर पनि रहे।  इन्जुरी समयमा इलामका खेलाडीले बक्सभित्र हातले बल छोए पछि रेफ्री ब्यञ्जनकारले वीरगन्जलाई पेनाल्टी अवसर दिएका थिए। यो निर्णय पछि मैदान भित्रका खेलाडी र मैदान बाहिरका अफिसियलहरू आक्रामक भए। 

त्यही पेनाल्टीमा गोल गर्दै विलियमले वीरगन्जलाई २-१ को अग्रता दिलाएका थिए। अन्ततः स्कोरलाइन अन्तिमसम्म त्यही रह्यो र वीरगन्ज विजयी बन्यो। जित पछि वीरगन्जको प्लेअफ सम्भावना कायम रहेको छ। इलामको सम्भावना भने सकिएको छ। 

यो जितसँगै वीरगञ्जले ५ खेलमा ५ अङ्क जोड्दै तालिकाको आठौँ स्थानमा उक्लिएको छ । इलाम ६ खेलमा ४ अङ्क सहित तालिकाको पुछारमा झरेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  ११:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update