Kath khabar
कौशी थिएटरमा नाटक 'बोधि सत्व' को मञ्चन

 

                   काठमाडौं, मंसिर २८ । बज्र कला कुञ्जको प्रस्तुति रहेको सांस्कृतिक नाटक ‘बोधि सत्व’को टेकुस्थित कौशी थिएटरमा मञ्चन भैरहेको छ।

मंसिर २० गतेदेखि मञ्चन सुरु भएको नाटकमा मानिसले आफ्नो भोग विलास र तृष्णाको लागि अनेकौं राम्रा र नराम्रा काम गरेर अकुत सम्पत्तिको जोहो गर्ने तर वास्तविक र कहिल्यै नाश नहुने सम्पत्ति भनेको बोधिसत्व प्राप्त गर्नु हो भन्ने देखाइएको छ ।

"बोधि भनेको आफूभित्रको ज्ञान हो, यो संसारलाई चिन्नु हो । सत्व भनेको सबै वा तत्व हो । कोही पनि प्राणीले आफूभित्रको ज्ञानलाई चिन्छ भने उसले बोधिसत्व प्राप्त गरेको हो ।  हामी सबै बोधि मार्गमा जान सक्छौं । बोधि मार्गमा जानलाई तपस्या नै गर्नुपर्छ, भिक्षु हुनुपर्छ र सबै त्याग्नुपर्छ भन्ने होइन । यदी हामीले कसैको लागि राम्रो सोच्यौं र राम्रो गर्यौं भने पनि हामीले आफूभित्र भएको बोधि चित्तलाई उजागर गर्न सक्छौ", भन्ने कुरा नाटकमा देखाउन खोजिएको छ ।

बज्र कला कुञ्जले यसअघि नामसंगति, कुमारी र पचली भैरव जस्ता सांस्कृतिक नाटकहरुको समेत मञ्चन गरिसकेको छ। इँगिहोपो काँईच सुनुवारले नाट्य रूपान्तरण गरेको नाटकलाई चन्द्रमान मुनिकारले लेखन, परिकल्पना तथा निर्देशन गरेका छन्।

बोधि सत्वमा कलाकारहरु सुदनमान मुनिकार, संगिता थापा, नानुमैंया महर्जन, युवाहाङ्ग राई, सृजना शर्मा, अन्जु श्रेष्ठ, अनिसा श्रेष्ठ, अजय लामा, सन्तोष गिरी, नविन काफ्ले र आकाश नेपालीको अभिनय रहेको छ।

काठमाडौं महानगरपालिकाको सहकार्यमा तयार भएको नाटक पुस ४ गतेसम्म हरेक साँझ ५ बजे र शनिबार दिउँसो १ बजे अतिरिक्त शो मञ्चन हुनेछ।

 

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update