Kath khabar



                    काठमाडौं, पुस १ । हास्य कलाकार हरिवंश आचार्यले नयाँ चेलीबेटी बेचबिखन सम्बन्धी गीत ल्याएका छन् । यसअघि चेलीबेटी बेचबिखनकै विषयमा ‘कर्कलो कोक्याउला’ र ‘काउली’ गीत गाएका आचार्यले अहिले ‘हिड माया हिड’ बोलको गीत ल्याएका हुन् ।

माइती नेपालको प्रस्तुतिमा बनेको यो गीतमा हरिवंशकै शब्द र संगीत छ । स्वरमा उनलाई गायिका स्मिता दाहालले साथ दिएकी छिन् । ‘यो चेलिबेटी बेचबिखन सम्बन्धी जनचेतनामूलक गीत हो,’ गीतबारे हरिवंशले भने, ‘चेलिबेटी बेचबिखन सम्बन्धी समस्या हाम्रो देशको नियति जस्तै भइसक्यो । पहिले पहिले चेलिबेटीहरुलाई भारतमा लगेर बेचिन्थ्यो, अहिले त्यो खाडी मुलुकसहित अफ्रिका लगायत अन्य मुलुकतिर पनि सरेको छ । मसाज सेन्टर या डान्सबारको काम भनेर लाने तर त्यहाँ पुर्याएपछि देह व्यापारमा लगाउने, यातना दिने लगायतका समस्या बढिरहेका छन् । त्यही कथा हामीले गीतमार्फत भन्न खोजेका हौं ।’

हरिवंश यो समस्या समाधान नभएसम्म यस विषयमा निरन्तर जनचेतनामूलक गीत गाइरहने बताउँछन् । ‘सर्जकका हिसाबले यस्तो विषयमा लगातार गीत गइरहन नपरोस् भन्ने नै लाग्छ । तर देशको नियतिले बाध्य बनाइरहेकै छ,’ आचार्यले भने ।

साहस शाक्यको एरेन्ज, श्यामश्वेत रसाइलीको मिक्सिङ रहेको गीतको भिडियोमा हरिवंशसँगै कलाकारहरु प्रियंका कार्की, कविता न्यौपाने, बालकृष्ण ओली लगायत कलाकारको अभिनय छ । गम्भिर विष्टको कन्सेप्ट र निर्देशन रहेको यो गीतको भिडियोमा कसरी गाउँ–गाउँबाट युवतीहरुलाई ललाइ फकाई गरेर विदेश पुर्‍याइन्छ भन्ने कथा देख्न सकिन्छ । पवन सुस्लिङले खिचेको यो गीतको भिडियो सम्पादन प्रविण भट्टले गरेका हुन् ।

 

 

 

 

 

 

 

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update