Kath khabar
दीक्षान्त समारोहमा त्रिविले धेरै विद्यार्थी उपस्थित गराएर बनायो विश्व किर्तिमानी

 

                      काठमाडौं, पुस २ । त्रिभुवन विश्वविद्यालयले सोमबार भएको दीक्षान्त समारोहमा धेरै विद्यार्थी सहभागी गराएर विश्व रेकर्ड कायम गरेको छ ।

त्रिभुवन विश्वविद्यालयले एकैपटक सबैभन्दा धेरै विद्यार्थी दीक्षित गराएकोमा आधिकारिक वर्ल्ड रेकर्ड एसोसिएसन (ओडब्लुआर) ले विश्वविद्यालयलाई प्रमाणपत्र प्रदान गरेको हो । आज सोमबार दशरथ रंगशालामा आयोजित त्रिविको ४९ औं दीक्षान्त समारोहमा २६ हजार भन्दा बढी विद्यार्थी दीक्षित भएको त्रिविले जानकारी दिएको छ ।

त्रिविको ६१औं ग्रेसलिष्टमा परेका ७४ हजार ७ सय ४९ विद्यार्थीमध्ये यसपटक १२ हजार चार सय १५ जनाले दीक्षान्त समारोहमा सहभागिताका लागि आवेदन दिएका थिए । निवेदन दिएकामध्ये स्नातक तहतर्फ आठ हजार ९८ जना, स्नातकोत्तर तहतर्फ चार हजार एक सय चार, एमफिलतर्फ ४४ तथा विद्यावारिधितर्फ एक सय १२ विद्यार्थी दीक्षित भएका हुन् । गत वर्ष १० हजार तीन सय विद्यार्थी दीक्षान्त समारोहमा सहभागी भएका थिए।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट विद्यार्थी दीक्षित भएका हुन् । धेरै विद्यार्थीलाई एकैपटक दीक्षित गराउने दाबीसहित त्रिविले गिनिज बुकलाई रेकर्डका लागि अनुरोध गरेको थियो । सोही अवलोकन गर्न गिनिज बुकका प्रतिनिधि टोली काठमाडौँ आएको थियो । विद्यार्थीको सङ्ख्या धेरै भएकोले त्रिविले दशरथ रङ्गशालामा दीक्षान्त समारोहको आयोजना गरेको हो ।

 

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update