Kath khabar
भक्तपुरको स्कुलमा नेपालको चुच्चे नक्सा


                    भक्तपुर, पुस ४ । भक्तपुरको एभरेष्ट स्कुल मिवाछें ब्यासी भक्तपुरमा कक्षा ८ मा अध्ययनरत एकजना छात्रा तृष्णा कोइराला दिनभर नेपालको चुच्चे नक्सा देखाउन व्यस्त थिइन् ।

नेपालको चुच्चे नक्सालाई फरक डिजाइनमा ठूलो आकारमा ल्याएको कोइराला आफ्ना टोलीसहित नेपालको चुच्चे नक्सा देखाउन उनी दिनभर व्यस्त भइन् । ‘यो नेपालको नक्सा हामी साथीहरुको एउटा समूहले शिक्षकहरुसँंगको सहयोग र सल्लाहमा बनाएका थियौं, उनले भनिन्, ‘धेरै मिहेनत गरेर बनाएको चुच्चेसहितको विशाल नेपालको नक्सा धेरैलाई देखाउन पाउँदा हामीलाई धेरै नै खुशी लागेको छ ।’

स्कुलमा भएको शैक्षिक प्रदर्शनीमा उनीहरु प्रदर्शनीको अवलोकन गर्न आउने विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारीहरुलाई विशाल नेपालको नक्सा देखाउँदै थिए । आउने वितिकै नमस्कार गर्दै नेपालको नक्साबारे विवरण प्रस्तुत गरी व्याख्या विवेचना गर्न उनीहरु अभ्यस्त थिए । कक्षाकोठा तथा प्रयोगशालामा सिकेको ज्ञान र सिपलाई अभिभावक तथा सम्पूर्ण विद्यालय परिवारका सामु प्रस्तुत गर्न स्कुलमा एभरेस्ट एसटीइएम  (स्टीम) एक्जिबिसन भएको थियो । त्यहाँ एस (साइन्स), टी (टेक्नोलोजी), इ (इन्जिनियरिङ), ए (आर्टस्) र एम (म्याथम्याटिक्स) सँंग सम्वन्धित एक सय भन्दा वढी स्टलहरु रहेका थिए ।

‘विद्यार्थीलाई समय सुहाउँदो व्यवहारिक ज्ञान दिन हामीले पहिलो पटक स्टीम एक्जिविशन गरेका हौं, स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले भने, ‘किताबी ज्ञानसँगै विद्यार्थीलाई समय सुहाउँदो व्यवहारिक आधुनिक ज्ञानहरु दिनु हाम्रो कर्तव्य हो ।’

प्रदर्शनीमा कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले निर्माण गरेका विज्ञान, प्रविधि, इन्जिनियरिङ्ग, कला, गणित (स्टिम) लगायतका विधासँग सम्बन्धित सामग्रीहरू प्रदर्शनीमा राखिएका थिए । प्रदर्शनी एकदिने थियो ।

प्रदर्शनीमा विद्यार्थीले परापूर्वकालमा पैसाकै चलनचल्तीमा नआउँदाको सामान साटासाट गर्ने चलन, पछि पैसाको चलन, अहिलेको पैसा पठाउने अनेक आइएमईलगायतका तरिकाहरू, बैकमा भएको पैसा एटिएमबाट झिक्ने तरिका लगायतलाई प्रदर्शनीमा राखेर अवलोकनकर्तालाई अभ्यास तथा जानकारी गराइएको थियो ।

प्रदर्शनीमा खेरजाने सामानहरुबाट घरको लागि विभिन्न सजावटका सामानहरु तयार पार्न सकिनेलगायतका प्रदर्शनी रहेका थिए । घरमा खेर जाने कागज, प्लाष्टिकका बोटलहरु, बाकस (कार्टुन) लगायतबाट आकर्षक घरायसी सामान उत्पादन गर्नसकिने भनेर बनाइएका सयौं सामानहरु प्रदर्शनीमा राखेका थिए ।

प्रदर्शनीमा कक्षा १ देखि कक्षा १० सम्मका करिव एक सय विद्यार्थीले प्रदर्शनी गरेका थिए । उनीहरूले देखाएको प्रदर्शनी स्कुलमा रहेका एक हजार वढी विद्यार्थी, तिनका अभिभावकहरु, शिक्षकशिक्षिका तथा सर्वसाधारणले अभिरुचिपूर्वक अवलोकन गरेका थिए । प्रदर्शनीमा निः शुल्क प्रवेशको व्यवस्था थियो ।  

आफ्नो ज्ञान र सीपलाई कलाको रूपमा प्रदर्शनी र प्रस्तुती दिन पाउँदा विद्यार्थीहरू निकै उत्साहित देखिन्थे । प्रदर्शनीले विद्यार्थीमा सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञानको साथै आत्मविश्वास समेत बढेको विद्यार्थीको भनाई थियो । आफ्ना नानीहरुको सीप तथा कलालाई प्रदर्शनीमा देख्न पाउँदा अभिभावकहरू दङ्ग परेको पाइयो । अवलोकनपछि आगन्तुक तथा अभिभावकको सकारात्मक टिप्पणी र सुझावले सिङ्गो विद्यालय परिवार निकै उत्साहित भएको स्कुलले जनाएको छ ।

प्रदर्शनीको समापन गर्दै विद्यालयका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले प्रदर्शनीमा उपस्थित भई हौसला बढाउनु हुने अभिभावक तथा आगन्तुक, प्रत्यक्ष सहयोग पुर्‍याउने शिक्षक तथा कर्मचारी, आफ्नो ज्ञान, कला, सीप र क्षमता प्रदर्शन गर्ने सम्पूर्ण विद्यार्थीहरुलाई धन्यवाद दिए । उनले आगामी दिनहरुमा अझ उच्चस्तरको प्रदर्शनी गर्न प्रोत्साहन मिलेको बताए ।

 

 

 

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update