Kath khabar
सात गतेदेखि दैनिक चार घण्टा नारायणगढ–मुग्लिन सडक बन्द हुने


                     चितवन, पुस ५ । नारायणगढ-मुग्लिन सडकखण्डमा यही पुस ७ गतेदेखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने भएको छ ।

यस सडकखण्डको तुइन खोलामा पुल निर्माण गर्नको लागि यही पुस ७ गतेदेखि दैनिक ४ घण्टा सवारी बन्द हुन लागेको नागढुङ्गा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन) ले आज एक सूचना जारी गरेर जनाएको हो ।

पुस ७ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द हुनेछ । नारायणगढबाट मुग्लिनतर्फ जाने सवारीसाधनमध्ये यात्रुवाहक सवारी साधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म रोकिने छन् भने मालवाहक सवारीसाधन भतेरी जङ्गलदेखि रामनगरसम्म रोकिनेछन् ।

यसैगरी, काठमाडौँबाट आउने यात्रुवाहक सवारी साधन मुग्लिन बजारदेखि मनकामना केवलकारसम्म र मालवाहक सवारी सधान लेवाटारमा रोक्नुपर्नेछ । पोखराबाट आउने यात्रीवाहक सवारीसाधन वेनीटारदेखि पावरहाउससम्म र मालवाहक सवारीसाधनलाई सत्रसय फाँटमा रोक्नुपर्ने आयोजनाले जनाएको छ ।

उक्त सडकका १९ वटा पुलमध्ये चार वटा चार वर्ष अघि निर्माण भएका हुन भने बाँकी १५ पुलको काम एकै साथ थालिएको थियो ।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update