Kath khabar
नेशनल मेडिकल कलेजमा इण्डोमेट्रिओमा भएकी युवतीको सफल शल्यक्रिया



                      वीरगन्ज, पुस ९ । नेशनल मेडिकल कलेजमा एक १९ वर्षीय युवतीको डिम्बाशयमा पलाएको सिस्ट दुरबिन प्रविधिबाट शल्यक्रिया गरी सफलतापूर्वक निकालिएको छ । महिनाबारी गडबड भएर जम्मा भएर बनेको रगत र पानी जमेको सिस्ट (इण्डोमेट्रिओमा)लाई दुरबिन प्रविधि (ल्याप्रोस्कोपी) बाट निकालिएको हो ।

गत बिहीबार कलेजका चिकित्सक डा.प्रविण शाह, डा.रुवी श्रेष्ठ, रेजिडेन्ट डा.सरोज यादव, डा.स्नेहा श्रेष्ठको टिमले लामो समयदेखि इण्डोमेट्रिओमाबाट पीडित युवतीको उपचार गरेको हो । कलैया घर भएकी ती युवती लामो समयदेखि अनियमित महिनाबारी हुने तथा महिनाबारीका समयमा अत्याधिक पेट दुख्ने समस्याबाट पीडित थिइन् । उनी ५ महिना अगाडि नै नेशनल मेडिकल कलेजमा उपचारका लागि आएपनि काठमाडौंमा समेत गएर स्वास्थ्य जाँच गराउँदा अप्रेसन गर्न सल्लाह दिइएको थियो । त्यसपछि उनी नेशनल मेडिकल कलेजमै गएर सोको उपचार गरेकी हुन् ।

‘उहाँ ५ महिना अगाडि नै आउनु भएको थियो । बिचमा काठमाडौं पनि जानुभयो । नेशनल मेडिकल कलेजमै ल्याप्रोस्कोपी विधिबाट अप्रेसन हुन्छ भनेपछि उहाँहरु यहीँ आउनु भयो, हामीले ३ वटा प्वाल पारेर ८.८ समीको सिस्ट निकाल्यौं ।’ शल्यक्रियामा संलग्न डा.प्रविण साहले बताए । अप्रेसनमा कलेजका एनेस्थेसियाका डा.असिम गौडेल, रेजिडेन्ट डा.मेलिना असप्रित तथा ओटी स्टाफ इब्राहिम अन्सारीले सहयोग गरेका थिए ।

कुनैपनि महिलाहरुमा अनियमित महिनाबारी छ, महिनाबारी हुँदा अत्याधिक पेट दुख्न भने डिम्बासयमा इण्डोमेट्रिओमाको जोखिम हुन्छ । ‘महिनाबारी हुँदा अत्याधिक पेट दुखिरहन्छ, महिनाबारी गडबड छ भने दुखाई कम गर्ने औषधीमात्र खाएर बस्नु हुँदैन । विशेषज्ञ डाक्टरलाई देखाउनु पर्छ ।’ अनियमित महिनाबारी हुने सय जना महिनाहरुमा १० प्रतिशतलाई इण्डोमेट्रोमाको जोखिम हुने डा. साहले बताए ।

स्त्री तथा प्रसूति सेवाका लागि अत्याधुनिक उपकरणसहित दक्ष चिकित्सकहरु रहेको नेशनल मेडिकल कलेजकी डाइरेक्टर नुसरत जहाँ अन्सारीले बताइन् । मधेश प्रदेशकै टर्सरी स्वास्थ्य संस्थाका रुपमा रहेको नेशनल मेडिकल कलेजले सर्वसुलभ शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ ।

 

 

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १३:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update