Kath khabar
जन्मजातै हर्नियाको काठमाडौं मेडिकल कलेजमा सफलतापूर्वक शल्यक्रिया


                              काठमाडौं, पुस १० । काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी) ले ४२ दिनको शिशुको हर्नियाको ल्याप्रोस्कोपी विधिबाट सफलतापूर्वक शल्यक्रिया गरेको छ ।

केएमसीले मिनिमल एसेस सर्जरी प्रविधिबाट जन्मजातै हर्निया भएको शिशुको सफलतापूर्वक शल्यक्रिया गरेको हो । चाँगुनारायण नगरपालिका वडा नं. १ सरस्वती खेलका बसन्त खड्काको शिशुको हर्नियाको केएमसीका बाल रोग विशेषज्ञ सर्जन डाक्टर आशिष लाल श्रेष्ठको टिमले सफलतापूर्वक शल्यक्रिया गरेका हुन् ।

अघिल्लो दिनदेखि लगातार बालक रोएपछि पुष २ गते केएमसी ल्याइएका शिशुको स्वास्थ्य जाँच गर्ने क्रममा हर्निया भएको पाइएको थियो । त्यसपछि तत्कालै भर्नागरी भोलिपल्टै मिनिमल एसेस सर्जरी मार्फत हर्निया निकालिएको बालरोग सर्जन डाक्टर श्रेष्ठले बताए । ‘शिशुको जन्मजातै दुवैतर्फ हर्निया थियो । सामान्यतया साना शिशुहरूको शल्यक्रिया गर्नु ठूलै जोखिम हुने भएकाले हामीसँग भएको अत्याधुनिक मिनिमल एसेस सर्जरी प्रविधि अनुसार नाइटोको छेउमा ३ एमएमको २ वटा प्वाल पारेर अप्रेसन गरेका हौं । अहिले बच्चाको अवस्था एकदम ठिक छ ।’ डा. श्रेष्ठले भने उनले केएमसीमा बालबालिकाका जस्तोसुकै रोगको उपचार गर्न सकिने बताए ।

मुटुको शल्यक्रिया बाहेक केएमसीमा जस्तोसुकै उपचार सम्भव रहेको जिकिर गर्दै डा. श्रेष्ठले बालबालिकाहरूमा देखिएका कुनैपनि समस्याहरूमा अभिभावकले हेलचेक्र्याइँ गर्न नहुने पनि बताए । ‘लगातार एउटै समस्या देखा परिरहन्छ भने सामान्य औषधी र एन्टिबायोटिक्स मात्र खाएर हुँदैन । विशेषज्ञ चिकित्सकबाट परामर्श लिनु पर्दछ ।’ उनले भने ।

केएमसीका अनुभवी विशेषज्ञ स्वास्थ्य टोलीले बच्चाको सफलतापूर्वक शल्यक्रिया गरेपछि बाबु बसन्त खड्का एकदम खुसी छन् । ‘४२ दिनको बच्चाको कसरी अप्रेसन होला र भन्ने चिन्ता थियो । अप्रेसनमा लैजानु अगाडि डाक्टरहरूले स्वासप्रस्वासमा समस्या भए चिरेर भएपनि गर्नुपर्छ भन्नुभएकोले बच्चा बाँचेर फर्किने होकि हैन भन्ने चिन्ता थियो । तर, केही भएन, अप्रेसन सफल भयो ।’ बाबु खड्काले भने । केएमसीको अत्याधुनिक ल्याप्रोस्कोपी प्रविधिले नै बच्चा बचाउन सफल भएको भन्दै खड्काले चिकित्सकहरूलाई धन्यवाद दिए । ‘मेरो लागि केएमसीका डाक्टरहरू भगवान सरह नै हुनुभयो । उहाँहरूले उपचार पद्धतिमा गर्नुभएको केयर कहिल्यै बिर्सन सक्दिनँ ।’

केएमसीमा स्वास्थ्य क्षेत्रका नवीनतम उपचार प्रविधिहरू भित्र्याइए पछि जस्तोसुकै जटिल केसहरू हल गर्न सकिएको छ । डाक्टर सुनिलकुमार शर्माले केएमसी लिएसँगै त्यहाँको स्वास्थ्य सेवामा उल्लेखनीय सुधार गरिएको केएमसीले जनाएको छ । केएमसीमा न्यूरो इन्टरभेन्सन प्रविधि समेत रहेको छ । हाल केएमसीमा एपेन्डिक्सको ९९ प्रतिशत केसहरू ल्याप्रोस्कोपी प्रविधिबाट अप्रेसन गरिन्छ । भने, फियो निकाल्ने, पित्तथैलीको अप्रेसन, किड्नीको पत्थरीको अप्रेसन समेत ल्याप्रोस्कोपी प्रविधिमै हुने गरेको छ ।

परम्परागत चिरेर गरिने अप्रेसन भन्दा ल्याप्रोस्कोपी विधिबाट गरिने अप्रेसन बिरामीका लागि सहज हो । ल्याप्रोस्कोपी बाट अप्रेसन गर्दा घाउ सानो हुने, चाँडै घाउ निको हुने, अप्रेसन गरेको एकाध दिनमै अस्पतालबाट घर जान सकिने, चाँडै हिँडडुल गर्न सकिन्छ । ‘अब पहिलेको जस्तो ठुल्ठूलो घाउ पारेर अप्रेसन गर्नुपर्ने अवस्था हटिसकेको छ । ल्याप्रोस्कोपी प्रविधिले डाक्टर र बिरामी दुवैलाई उपचारमा सहजता प्रदान गरेको छ । यसको प्रभावकारितामा कुनै शंका गर्नुपर्दैन’ डा. श्रेष्ठले भने ।

kjkjj1703572541.jpg

 

 

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update