Kath khabar
नेपाल सुपर लिग : पोखरालाई हराउँदै धनगढी फाइनलमा आज काठमाडौं र ललितपुर खेल्दै

 

                    काठमाडौं, पुस १० ।  पोखरा थन्डर्सलाई पेनाल्टी शुटआउटमा हराउँदै धनगढी दोस्रो संस्करणको एफसी नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा पुगेको छ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको पहिलो क्वालिफायरमा पोखरालाई पेनाल्टी शुटआउटमा ४-३ गोलले हराउँदै धनगढी उपाधि नजिकै पुगेको हो । धनगढी लगातार दोस्रो पटक फाइनलमा पुगेको हो । धनगढी पहिलो संस्करणमा फाइनलमा काठमाडौं रेजर्ससँग पराजित हुँदै उपविजेता बनेको थियो ।

निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा पोखरा र धनगढीले १-१ गोल गर्दै खेल २-२ को बराबरीमा सकिए पछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो । खेलको ५ औँ मिनेटमा पोखराका आयुष घलानले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर खेलको ५४ औँ मिनेटमा देवेन्द्र तामाङले गोल गर्दै धनगढीलाई खेलमा फर्काए ।

त्यसपछि निर्धारित ९० मिनेटमा थप गोल हुन नसके पछि खेलमा ३० मिनेट अतिरिक्त समय थप भएको थियो । खेलको १०२ औँ मिनेटमा स्टेफेन कोजोले गोल गर्दै पोखरालाई फेरि अग्रता दिलाए । तर अतिरिक्त समयको अन्तिम मिनेटमा धनगढीका अहमद हिजाजीले गोल गरेपछि खेल पेनाल्टी शुटआउटमा गएको थियो ।

यो खेल हारे पनि पोखराले फाइनल पुग्न अर्को मौका पाउनेछ । अब पोखराले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी बीचको खेलको विजेतासँग खेल्नेछ । 

नेपाल सुपर लिग (एनएसएल) को इलिमिनेटरमा आज साविका विजेता काठमाडौं रेजर्स र ललितपुर सिटी खेल्दैछन् । यो खेल बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा हुनेछ ।

शनिवार भएको लिग चरणको अन्तिम खेलमा ललितपुर सिटीलाई १-० ले हराउँदै काठमाण्डौ तेस्रो स्थानमा रहेर प्लेअफमा पुगेको हो भने पराजित भएको ललितपुर चौथो स्थानमा रहेर प्लेअफमा पुगेको थियो ।

अब आजको खेलमा विजयी हुने टोलीसँग पोखराले फाइनलमा पुग्न क्वालिफायर २ खेल्नेछ । क्वालिफायर २ पर्सि बिहीवार र फाइनल खेल शनिवार हुनेछ ।

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १३:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update