Kath khabar
नेपाल सुपर लिग : पोखरा थन्डर्सलालाई हराउँदै ललितपुर सिटी फाइनलमा

 

                   काठमाडौं, पुस १३ ।  पोखरा थन्डर्सलाई हराउँदै ललितपुर सिटी एफसी दोस्रो संस्करणको नेपाल सुपर लिग फुटबल (एनएसएल) को फाइनलमा पुगेको छ ।

बिहीवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको दोस्रो क्वालिफायर खेलमा पोखरालाई २-१ गोलले हराउँदै ललितपुर उपाधि नजिकै पुगेको हो । खेलको ३४ औँ मिनेटमा निखिल कदम रातो कार्ड पाउँदै बाहिरिए पछि ललितपुर १० खेलाडीमा सीमित भएको थियो । तर पोखराले यसको फाइदा उठाउन सकेन ।

खेलको पहिलो हाफको इन्ज्युरी समयमा इमोह इजेकिलले गोल गर्दै ललितपुरलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७१ औँ मिनेटमा पोखराका स्टेफेन कोजोले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । निर्धारित ९० मिनेटको खेलमा थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा गएको थियो ।

अतिरिक्त समयको १७ औँ मिनेटमा ललितपुरका कुशल देउवाले गोल गर्दै फेरि टोलीलाई अग्रता दिलाए । त्यसपछि थप गोल हुन नसकेपछि ललितपुर २-१ गोलले विजयी भयो ।

अब ललितपुरले एनएसएलको फाइनलमा भोलि शनिवार पहिलो संस्करणको उपविजेता धनगढी एफसीसँग खेल्नेछ । ललितपुर पहिलो पटक फाइनलमा पुगेको हो ।

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update