Kath khabar
नेपाल पुलिस क्लबलाई नेपाल प्रो क्लब च्याम्पियनसिपको उपाधि



                    काठमाडौं, पुस १५ । पर्सा क्रिकेट संघको आयोजनामा वीरगंजमा सञ्चालित नेपाल प्रो क्लब च्याम्पियनसिप टि–२० क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हासिल गरेको छ ।

वीरगञ्जस्थित नारायणी रङ्गशालामा शनिबार भएको फाइनल खेलमा पर्सा–११ लाई १ सय रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल पुलिस क्लबले उक्त उपाधिसँगै ५ लाख रूपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । टस जितेर पहिलो ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १ सय ४५ रन बनाएको थियो ।

पुलिसका लागि करण केसीले अविजित ४० रनको योगदान गरे । उनले केवल १७ बलमा पाँच छक्का प्रहार गरेका थिए । यसैगरी अर्जुन साउदले २६ रन, शंकर राणाले १९ रन, ओपनर दिलीप नाथले १७ रन, कप्तान आरिफ शेखले १६ रन, अमित श्रेष्ठले ७ रन, रसिद खानले ७ रन, सुनिल धमलाले २ रन, शेर मल्लले १ रन र सागर ढकालले १ रनको योगदान दिएका थिए ।  

१ सय ४६ रनको विजयी लक्ष्यसहित जबाफी ब्याटिङ गरेको पर्सा–११ ले ११ ओभरमा अलआउट हुँदै केवल ४५ रन मात्रै बनाएको थियो । बलिङतर्फ नेपाल पुलिस क्लबका बलर सागर ढकाल एक्लैले चार विकेट लिए । यसैगरी ललित राजवंशी र रसिद खानले दुई/दुई विकेट लिए भने करण केसी र शेर मल्लले समान एक/एक विकेट लिए । फाइनल खेलमा नेपाल पुलिस क्लबका करण केसी म्यान अफ द म्याच घोषित भए ।

 

 

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  ११:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update