Kath khabar
बाबु एडभेन्चरद्वारा नेपालमै पहिलोपटक हाइ अल्टिच्युडको प्याराग्लाइडिङ स्कुल सुरू


                 काठमाडौं, पुस १९ । नेपालमै पहिलोपटक हाइ अल्टिच्युडको प्याराग्लाइडिङ स्कुल सञ्चालनमा आएको छ ।

लमजुङको दोर्दी गाउँपालिका–८ थोँतीमा बाबु एडभेन्चर प्याराग्लाइडिङ कम्पनीले हाइ अल्टिच्युडको प्याराग्लाइडिङ स्कुल सञ्चालनमा ल्याएको हो । ३ हजार ९ सय मिटरमा सञ्चालनमा आएको यस स्कुलमा हाइ अल्टिच्युडमा प्याराग्लाइडिङ गर्न चाहनेहरूले तालिम लिन सक्नेछन् ।

नागरिक उड्डयन प्राधिकरणको स्वीकृति र स्थानीय तहसँगको सहकार्यमा स्कुल सञ्चालनमा ल्याइएको कम्पनी सञ्चालक सानोबाबु सुनुवारले जानकारी दिए । स्कुलमा उच्च हिमाली हावापानीमा कसरी प्याराग्लाइडिङमा उड्ने, कसरी उडाउने भन्नेबारे सिकाइने उनको भनाइ छ । प्याराग्लाइडिङ स्कुलका लागि आवश्यक पूर्वाधार तयारीमा दोर्दी गाउँपालिकाले समेत सहयोग गरेको छ । साथै अन्य सुविधाहरू पनि क्रमशः विस्तार गरिने गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताए ।

उनले गाउँपालिकामा रहेको भेडीगोठ सहितका अन्य गन्तव्यको पर्यटकीय प्रवर्द्धन गर्नका लागि पनि प्याराग्लाइडिङ स्कुल महत्वपूर्ण हुने गाउँपालिका अध्यक्ष अधिकारीको भनाइ छ । पालिकामा प्याराग्लाइडिङ स्कुल सञ्चालनमा आएपश्चात स्थानीयलाई समेत नयाँ अवसर सिर्जना हुँदै जाने उनी बताउँछन् । उनले भने,’पर्यटकीय क्षेत्रमा नै स्कुल सञ्चालन हुँदा स्थानीयलाई रोजगारीको अवसर पनि सिर्जना हुन्छ । यसबाहेक स्थानीयले तालिम समेत लिन मिल्ने भएपछि रोजगारीको नयाँ अवसर समेत पाइने देखिन्छ ।’

बाबु एडभेन्चर प्याराग्लाइडिङ कम्पनीले यसअघि नौं वर्षदेखि स्याङजाको भीरकोट नगरपालिका–५ स्वरेक मैदानमा प्याराग्लाइडिङ स्कुल सञ्चालन गर्दै आएको छ । प्याराग्लाइडिङ स्कुलसँग सहकार्य र सहयोगका लागि विभिन्न कम्पनीले चासो देखाएका छन् । हालैमात्र रेडबुलको एडभेन्चर टिम नेपाल आएर स्कुल अवलोकन भ्रमण गरेको थियो । त्यसपश्चात उनीहरुले स्कुलसँग सहकार्य गर्ने  प्रतिबद्धता दिएको सञ्चालक सुनुवारले जानकारी दिए ।

अब नेपालमा हिमाल आरोहणका लागि मात्रै नभई विदेशी पर्यटक हाई अल्टिच्युड प्याराग्लाइडिङको मज्जा लिन पनि आउने नेपाल हवाई खेलकुद संस्था (ना)का निवर्तमान अध्यक्ष कृष्ण भट्टराई बताउँछन् । सामान्य प्याराग्लाइडिङ विश्वको प्रायः ठाउँमा उपलब्ध रहेको भएपनि हाई अल्टिच्युड नभएको उनले बताए । नेपालमा हाइ अल्टिच्युड प्याराग्लाइडिङको उच्च सम्भावना रहेकाले यो स्कुल निकै महत्वपूर्ण हुने उनको भनाइ छ । ’हामीजस्तो हिमालयको मुलुकमा विभिन्न हिमशृङ्खलाहरूबाट प्याराग्लाइडिङ गर्न र एक्सट्रिम एडभेन्चरको मज्जा लिन यहाँ निकै उत्कृष्ट गन्तव्य बन्छ,’ उनले भने ।

स्कुल सञ्चालनले साहसिक प्याराग्लाइडिङ उडानमा दक्ष जनशक्तिको उत्पादन गर्न समेत भूमिका खेल्ने उनले बताए । यसो हुँदा विदेशी मुद्रा आर्जनमा समेत स्कुलले सहयोग गर्ने उनको भनाइ छ । उनले अब हेलिबाट पर्यटक भएर हिमाल हेरिँदै आएकोमा स्कुल सञ्चालनमा आएपछि अब हिमाललाई हेर्नका लागि प्याराग्लाइडिङको समेत सम्भावना बढ्ने देखिन्छ ।

 

 

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १३:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update