Kath khabar
जर्मन फुटबलका हस्ती फ्रेन्ज बेकेनबाउरको ७८ वर्षमा निधन

 

                म्युनिख, पुस २४ ।  विश्व फुटबलका महान हस्ती फ्रान्ज बेकेनबाउरको ७८ वर्षको उमेरमा निधन भएको छ ।

बेकेनबाउरको परिवारले सोमबार एक विज्ञप्ति निकाल्दै उनको निधन भएको आधिकारिक घोषणा गरेको हो । विश्व फुटबलका महान मध्येका एक बेकेनबाउरले खेलाडी र प्रशिक्षकको रुपमा जर्मनीलाई विश्वकपको उपाधि जिताएका थिए ।

खेलाडी र प्रशिक्षकको भमिकामा विश्वकप जित्ने ३ हस्तीहरुमा जर्मनीका बेकेनबाउर, ब्राजिलका मारियो जागालो र फ्रान्सका डिडियर डेसच्याम्प हुन् । ब्राजिलियन हस्ती जागालोको पनि गत हप्ता निधन भएको थियो । बेकेनबाउरले सन् १९७४ मा तत्कालीन पश्चिम जर्मनीको कप्तानको रूपमा र १९९० मा प्रशिक्षकको रूपमा विश्वकप जितेका थिए ।

बेकेनबाउरले २० वर्षको उमेरमा सन् १९६६ को विश्वकपमा ४ गोल गर्दै प्रतियोगिताको उत्कृष्ट युवा खेलाडीको उपाधि समेत पाएका थिए । उनी फिफा विश्वकप, युरोपियन कप र बालोन डी’ओर जित्ने ९ खेलाडीहरू मध्ये एक हुन् ।

३ वटा विश्वकप र २ वटा युरोपियन च्याम्पियनसिपमा पश्चिम जर्मनीको प्रतिनिधित्व गरेका बेकेनबाउरले देशका लागि कुल १ सय ३ खेल खेले । उनले क्लब करियरमा बायर्न म्युनिखका लागि १९६७ मा युरोपियन कप विनर कप र १९७४ देखि १९७६ सम्म लगातार ३ वटा युरोपियन कप जितेका थिए ।

बेकेनबाउरले डिफेन्डरको रूपमा १९७२ र १९७६ मा २ पटक बालोन डी’ओर पनि जिते । विश्व फुटबलमा उनलाई “डर काइसर” वा “सम्राट” उपनामले चिनिन्छ । उनको निधन प्रति अन्तराष्ट्रिय फुटबल जगतले गहिरो समवेदना प्रकट गरेको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update