
काठमाडौं, असार १४ । विश्वभरिका नेपाली भाषी गायन प्रतिभा पहिचान गर्न गैरआवासीय नेपाली संघले आयोजना गर्न थालेको ‘एनआरएन द सिङ्गर’ को भव्य उद्धघाटन भएको छ । आइतबार भर्चुअल माध्यमबाट आयोजित समारोहमा संघका केन्द्रीय अध्यक्ष कुमार पन्त, पूर्व अध्यक्ष जीवा लामिछाने तथा वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटाले संयुक्तरुपमा उद्धघाटन गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै संघका केन्द्रीय अध्यक्ष कुमार पन्तले भन्नुभयो, ‘यो कार्यक्रम विश्वभरि छरिएका नेपालीको गायन प्रतिभा खोजीका लागि महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास लिएको छु ।’ संस्कृति तथा सम्पदा उप-समितिका संयोजक गोविन्द प्रसाद गौतमले यो कार्यक्रम सफल बनाउनका लागि देश विदेशका सबै नेपालीको साथ र सहयोगको अपेक्षा गर्नुभयो । उहाँले यो प्रतियोगिता अन्तराष्ट्रियस्तरको हुने बताउनुुभयो ।
प्रिअडिसनपछि नेपाली टेलिभिजनबाट पनि यो कार्यक्रम प्रसारण हुनेछ । प्रतियोगिताका केही एपिसोडहरू नेपालमा पनि हुनेछन् । ‘तर त्यसका लागि अवस्था पनि हेर्नुपर्ने हुन्छ । त्यो बेलासम्म महामारीको अवस्था कस्तो हुन्छ त्यसअनुसार पनि निर्णय हुनेछ । कति अडिसन भर्चुअल गर्ने र कति भौतिक रुपमै गर्ने भन्ने कुरा त्यही अवस्थाअनुसार हुनेछ,’ गौतमले भन्नुभयो ।
ऐतिहासिक कार्यक्रम
निर्णायक समितिका प्रमुख निर्णायक शम्भुजीत बास्कोटाले सबै नेपालीको साथ र सहयोगबाट एनआरएनएको यो ऐतिहासिक सांगीतिक कार्यक्रम सफल हुने विश्वास व्यक्त गर्नुभयो । एनआरएनएको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिका संयोजक हिक्मत थापाले विदेशमा पनि ठूलो नेपाल छ, नेपाली छन्, भाषा, साहित्य र संस्कृति छ भन्ने कुरा दर्शाउन यो कार्यक्रमले ईटा थप्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा निर्णायक शम्भु राई, आइसीसी सदस्य तृष्णा शर्मा लगायतले शुभकामना दिएका दिनुभयो । उद्धघाटनपछि प्रिअडिसन आइतबारदेखि खुला भइसकेको छ । डायस्पोराका नेपालीभाषी अग्रज र अनुजका स्वर प्रतिभाहरू पहिचान गर्ने उद्देश्यले टेलिभिजन रियालिटी शो ‘एनआरएन द सिङ्गर’ सुरू गरेको हो ।
कार्यक्रममा प्रथम पुरस्कार १५ लाख रुपैयाँ, द्वितीय पुरस्कार सात लाख रुपैयाँ र तृतीय पुरस्कार चार लाख रुपैयाँ तोकिएको आयोजकहरुले जनाएका छन् । ‘एनआरएन द सिङ्गर’ नामको मोबाइल एपमा डाउनलोड गरेर प्रतियोगीले त्यसैमा आफ्नो गीतको भिडियो राख्न सक्नेछन् । भिडियो फाइल र त्यसको लिंकसमेत एपमा राख्न सकिनेछ । यो एपमा कार्यक्रमका बारेमा जानकारी पनि हुनेछ भने प्रतियोगीका लागि भोटिङका लागि पनि यो एप प्रयोग हुनेछ ।
‘खोजी : एउटा उत्कृष्ट प्रवासी नेपाली आवाजको’ नारा दिइएको यो प्रतियोगिताको निर्णायक मन्डलमा वरिष्ठ संगीतकार शम्भुजीत बाँस्कोटा, गायक शम्भु राई, गायिका शर्मिला बर्देवा तथा एनआरएनएका पूर्वअध्यक्ष तथा नियात्राकार जीवा लामिछाने रहनुभएको छ । वरिष्ठ संगीतकार तथा निर्णायक मण्डलका प्रमुख निर्णायक शम्भुजीत बास्कोटाले विश्वभरि छरिएका नेपाली संगीतकर्मी, कलाकारहरुलाई कार्यक्रममा जोड्न सुझाव दिंदै यो कार्यक्रमले नेपाली कला क्षेत्रलाई माथि पुराउने, र नेपाली भाषीहरुलाई नेपाली गीत, संगीत सिक्न प्रोत्साहित गर्ने अपेक्षा पनि व्यक्त गर्नुभयो ।
कार्यक्रममा पत्रकारहरुले राखेका जिज्ञासाको मूल आयोजक समितिका हिक्मत थापा, गोविन्द प्रसाद गौतम, गणेशराज गौतम, रमण झा लगायतले जवाफ दिनुभएको थियो । यो कार्यक्रमको सह उत्पादन टेक क्राफ्ट अस्ट्रेलियाले गरिरहेको छ भने सुवि टेक्नोलोजी प्रविधि पार्टनरकोरुपमा रहेको छ । संस्कृति तथा सम्पदा उपसमितिको संयोजक गोविन्द प्रसाद गौतमले कार्यक्रमको सभापतित्व गर्नुभएको थियो भने कार्यक्रमको संचालन मूल आयोजक समितिका सचिव खड्ग न्यौपानेले गर्नुभएको थियो ।
सहभागीका लागि नियमहरू
यो प्रतियोगितामा भाग लिने सहभागीका लागि नियमहरू यसप्रकार छन् :
- गीत नेपाली भाषामा हुनुपर्नेछ ।
- गीतका प्रकारहरू : लोक, आधुनिक, झ्याउरे, सोरठी, देउडा, मारुनी, काठे भाका, असारे, रोधी, फिल्मी गीत, देशभक्ति वा पप गीत गाउनुपर्नेछ ।
- प्रतियोगीले www.nrnthesingers.com मा गएर आवेदन दर्ता फाराम अनिवार्य भर्नुपर्नेछ ।
- गैरआवासीय नेपालीहरू, एनआरएन विधानअनुसार विदेशी मूलका नेपालीहरू र नेपाली भाषीहरूले भाग लिन पाउनेछन् ।
- घर विदामा नेपाल बसेका गैरआवासीय प्रतिभाहरूको हकमा उनीहरूको सम्बन्धित देशको परिचयपत्र प्रमाणित भए मात्रै भाग लिन पाउनेछन् ।
- १५ वर्षभन्दा माथि उमेर भएकाहरूले मात्रै प्रतियोगितामा भाग लिन पाउनेछन् ।
- गीतको भिडियो पोट्रेट भर्टिकल नभई तेस्रो हुनुपर्नेछ ।
- भिडियो गुणस्तर न्यूनतम एचडी अथवा १०८० पी मा मात्रै पठाउनुपर्नेछ ।
- पहिलो गायन परीक्षण बिना बाजा, बाजा वा दुबै प्रयोग गर्न सकिनेछ ।
- गायन परीक्षणकोका लागि एक स्थायी र एक अन्तरा अनिवार्य गाउनुपर्नेछ ।
- भिडियोमा ब्याकग्राउन्ड साउन्ड हुनुहुँदैन ।
- एपबाट बाहेक अन्य माध्यमबाट आएका भिडियोहरूलाई समावेश गरिने छैन ।
- भिडियो डे लाइटमा खिच्नुपर्नेछ ।