Kath khabar
मुलुकको निर्यात व्यापार खुम्चियो, पाँच महिनामा ६३ अर्ब २१ करोडको सामान निर्यात


                              काठमाडौं, पुस २६ । मुलुकको निर्यात व्यापारमा कमी आएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्वन्धी चालु आर्थिक वर्षको पाँच महिनाको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ को पाँच महिनामा कुल वस्तु निर्यात छ दशमलव एक प्रतिशतले कमी आई ६३ अर्ब २१ करोड कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३४ दशमलव छ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ११.३ प्रतिशतले कमी आएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः तीन सय २२ दशमलव तीन प्रतिशत र दुई दशमलव तीन प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोड, जुस, पोलिस्टर धागो, तयारी पोसाक लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाबिन तेल, चिया, ऊनी गलैँचा, रोजिन लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०८०/८१ को पाँच महिनामा कुल वस्तु आयात तीन दशमलव चार प्रतिशतले कमी आई छ खर्ब ४२ अर्ब २१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २० दशमलव सात प्रतिशतले कमी आएको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलकबाट भएको आयात क्रमशः एक दशमलव तीन प्रतिशत र २८ दशमलव चार प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३२ दशमलव आठ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा तयारी पोशाक, एम.एस. तार, छड, बार तथा क्वाइल, विद्युतीय उपकरण, लत्ताकपडा, हवाईजहाजका स्पेयर पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने सुन, कच्चा सोयाबिन तेल, कच्चा पाम तेल, पेट्रोलियम पदार्थ, धान लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कृष्णनगर, मेची, रसुवा, तातोपानी तथा त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

आर्थिक वर्ष २०८०/८१ को पाँच महिनामा कुल वस्तु व्यापार घाटा तीन दशमलव एक प्रतिशतले कमी आई पाँच खर्ब ७९ अर्ब रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १८ दशमलव आठ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात नौं दशमलव आठ प्रतिशतमा झरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १० दशमलव एक प्रतिशत रहेको थियो। समीक्षा अवधिमा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी ६३ अर्ब ६६ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ५० अर्ब २० करोड बराबरको भएको प्रतिवेदनमा उल्लेख छ ।  
 

 

 

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update