Kath khabar
ऋतिक रोशनको बहुप्रतिक्षित फिल्म ‘फाइटर’ ले रिलिज अघि नै गर्यो ठूलो कमाई

 

                        काठमाडौं, माघ ८ । ऋतिक रोशन र दीपिका पादुकोण स्टारर फिल्म ‘फाइटर’ सन् २०२४ को बहुप्रतिक्षित फिल्म मध्ये एक हो । फिल्मको ट्रेलर र पोस्टर रिलिज भएदेखि नै दर्शकहरु यो फिल्मलाई लिएर निकै उत्साहित छन् र यसको रिलिजको प्रतिक्षामा छन् ।

चलचित्रको अग्रिम बुकिङ सुरु भइसकेको छ, जसले अग्रिम बुकिङमा तरङ्ग मच्चाईरहेको छ । पहिलो दिन सिल्भर स्क्रिनमा ‘फाइटर’ हेर्नको लागि मानिसहरु अग्रिम टिकट बुकिङ गरिरहेका छन् । रिलिज हुनुअघि नै ऋतिक रोशनको ‘फाइटर’ ले अग्रिम बुकिङमा ठूलो कमाई गरेको छ ।

चलचित्रको पहिलो दिनको अग्रिम टिकट बुकिङमा ‘फाइटर’ ले अहिलेसम्म ३ करोड ६७ लाख रुपैयाँ अग्रिम बुकिङ गरेको बताईएको छ । अहिलेसम्म जम्मा १ लाख १३ हजार ४८७ टिकट बिक्री भइसकेको छ । ‘फाइटर’को टु डी संस्करणको ४५ हजार २२६ टिकट बिक्री भइसकेको छ भने थ्रीडी संस्करणका लागि ६० हजार ६९३ टिकट बिक्री भइसकेको छ ।

‘फाइटर’ एक एक्सन फिल्म हो, जसमा दीपिका पादुकोण र ऋतिक रोशन स्क्वाड्रन लिडरको भूमिकामा देखिनेछन् । फिल्ममा ऋतिक-दीपिकासँगै अनिल कपुर र करण सिंह ग्रोवर पनि मुख्य भूमिकामा छन् । अनिल कपूर ग्रुप क्याप्टेन राकेश जय सिंह अर्थात् रकीको भूमिकामा देखिनेछन् । ‘एनिमल’ पछि अनिल कपूरको यो दोस्रो ठूलो फिल्म हो ।

निर्माण पक्षले सार्वजनिक गरेको टिजरमा प्रेम, एक्सन र देशभक्तिले भरिएको देखिन्छ । ‘फाइटर’ मा ऋतिक रोशन र दीपिका पादुकोणको अनस्क्रिन रोमान्टिक केमेस्ट्री पहिलो पटक देखिनेछ । यो जोडीलाई ठूलो पर्दामा हेर्न फ्यानहरु निकै उत्साहित छन् ।

टिजरको प्रत्येक दृश्य निकै रोमाञ्चक छ । 'फाइटर' को एक मिनेट १३ सेकेन्ड लामो टिजरले लडाकु विमानहरूको हवाई एक्शन देखाउँछ । टिजरमा ऋतिक रोशन र दीपिका पादुकोणको प्रेमकथाले पनि मानिसहरूलाई आकर्षित गरिरहेको छ । यसको ब्याकग्राउन्ड म्युजिकले पनि यसलाई विशेष बनाएको छ । फिल्मको ट्रेलरसँगै फाइटरको गीतलाई पनि दर्शकले रुचाएका छन् । उत्साह र जोशले भरिएको फिल्म ‘हीर आसमानी’ को थिम गीत पनि सार्वजनिक भएको छ ।

यसअघि सेन्सर बोर्डले फिल्ममा दीपिका पादुकोण र ऋतिक रोशनको इन्टिमेट दृश्यमा आपत्ति जनाएको थियो र फिल्मबाट केहि दृश्यहरू हटाउन तथा केही आपत्तिजनक शब्दहरू म्युट गर्न पनि भनेको थियो । यी सबै परिवर्तनपछि 'फाइटर' १९ जनवरीमा सेन्सर बोर्डले पास गरेको थियो । फिल्मको रन टाइम २ घण्टा ४० मिनेट रहेको बताइएको छ ।  फिल्म २५ जनवरी गणतन्त्र दिवसको अवसरमा हलमा रिलिज हुँदैछ ।

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update