Kathkhabar
गोर्खा वारियरको ट्रेलरले दियो हलिउड फिल्मको आभास


                  काठमाडौं, माघ १२ । ऐतिहासिक अन्तर्राष्ट्रिय चलचित्र गोर्खा वारियर आउँदो ११ फागुनबाट नेपालमा रिलिज हुने भएको छ ।

यसै क्रममा यो चलचित्रको नेपाली संस्करणको ट्रेलर बिहीबार काठमाडौंको विश्वज्योति सिनेमामा एक समारोहबीच सार्वजनिक गरिएको छ । मिलन चाम्सद्धारा निर्देशन गरिएको यो चलचित्रको ट्रेलरलाई हल रिलिजसँगै ओएसआर डिजिटल युट्युब च्यानलबाट बिहीबार रिलिज गरिएको छ ।

यस अघि फस्ट लुक्स र टिजर सार्वजनिक गरेपछि चलचित्र गोर्खा वारियरप्रति दर्शकको चासो निकै बढेको थियो । यसै क्रममा यो चलचित्रको ट्रेलरलाई रिलिज समारोहमा सञ्चारकर्मी तथा सिनेकर्मीले खुलेर प्रशंसा गरेका छन् । गोर्खा वारियरको ट्रेलर हेरेपछि फिल्म हिट हुने दर्शकको प्रतिक्रिया प्राप्त भइरहेको छ ।

२ मिनट २२ सेकेन्डको यो ट्रेलरमा गोर्खा सैनिकले मलाया युद्धका क्रममा भोग्नु परेका विभिन्न संघर्ष र पीडालाई प्रस्तुत गरिएको छ । सन १९४९ का बेला दोश्रो विश्वयुद्धको क्रममा गोर्खाली सेनाहरुले लडेको मलाया युद्धको कथामा यो चलचित्र केन्द्रित रहेको छ । त्यो समय मलाया युद्ध कति कठिन थियो र सो युद्धमा गोर्खा सैनिकहरुले कति संघर्ष गर्नु पर्यो भन्ने कुराको सारांश आज रिलिज ट्रेलरमा देखाइएको छ ।

अरु चलचित्रको ट्रेलरमा सम्बन्धित सिनेमाको कथा लुकाइए पनि गोर्खा वारियरको ट्रेलरमा यो चलचित्रको संक्षिप्‍त कथा खुलाइएको छ । थोरै भए पनि मलाया युद्धबारे दर्शकलाई जानकारी होस भनेर ट्रेलरमा यसको केही कथा खुलाइएको निर्देशक चाम्सले सो कार्यक्रममा प्रकाश पारे । तथापि सिनेमा भित्र के छ भन्ने कुरा गोर्खा वारियर नहेरी थाहा नहुने उनले बताए ।

कार्यक्रममा बोल्दै निर्देशक चाम्सले भने, ‘बीर गोर्खाली सैनिकले पहिलो र दोश्रो विश्वयुद्धमा गरेको युद्धको नभनिएका धेरै कथाहरु छन् । वीरताको ती कथा बिस्तारै हराउदो जाने हुनाले हामीले १९४९ को मलाया युद्धको कथालाई यो चलचित्रमा प्रस्तुत गरेका हौं ।’ अन्तराष्ट्रिय जगतमा दर्शकको मन  जितेको यो चलचित्रले नेपालका दर्शकको पनि मन जित्ने विश्वास उनले व्यक्त गरे ।

यो चलचित्रबाट डेब्यु गरेका अभिनेता रितेश चाम्सले करिब आठ वर्षको तयारी पश्चात आज अभिनेताको रुपमा यो सिनेमामा आफू आएको बताए । आफू गोर्खा सैनिक भएकाले पनि गोर्खा सैनिकको यथार्थ भूमिकामा काम गर्न आफूलाई केही सजिलो भएको उनले बताए ।  

यो चलचित्रको ट्रेलर अनुसार ३१ अगस्ट सन १९५७ मा उपनिवेशबाट मुक्त भएको मलाया (हालको मलेशिया) त्यसअघि बेलायतको अधीनमा थियो । आफ्नो स्वतन्त्रताको लागि मलायाका विद्रोही समुहले १९४० को सुरुवात देखिनै बेलायती शासक विरुद्ध गुरिल्ला युद्ध गर्दै आएका थिए । सुरुको चरणमा बेलायती सैनिकलाई समेत ति विद्रोहीहरूले बन्दी बनाएपछि त्यहाँ बेलायतले पुन पठाइएको गोर्खा सैनिकले मलायाको जंगलमा सन १९४९ मा गरेको भीषण युद्धको झलक ट्रेलरमा समेटिएको छ ।

युद्धका क्रममा गोर्खाली सैनिकको परिवार प्रतिको बिछोड र सम्झनाका कारुणिक दृष्य पनि ट्रेलरमा हेर्न पाइन्छ । गोर्खा वारियरको ट्रेलर हेर्दा निकै महँगो बजेटमा बनेको हलिउडको वार जनराको फिल्मको ट्रेलर हेरिरहेको महसुस दर्शकलाई हुने गर्दछ ।  

चलचित्र गोर्खा वारियर रिलिज अघि नै निकै चर्चामा छ । पहिलोपटक बेलायतमा हालै ऐतिहासिक रेड कार्पेट प्रिमियर गरेपछि ‘गोर्खा वारियर’ले अन्तराष्ट्रिय जगतमै चर्चा पाएको हो । त्यसो त गोर्खा वारियरले हालै ‘ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस्’ (बाफ्टा) अवार्डका लागि प्रवेश पाएपछि यसको चर्चा झनै बढ्यो । यो चलचित्र नेपाली, हिन्दी, अंग्रेजी र कोरियन गरी चार भाषामा निर्माण भएको छ । यो चलचित्रको नेपाली संस्करण तयार भइसकेको छ भने हिन्दी, कोरियन र अंग्रेजी संस्करणको निर्माण पनि अन्तिम अवस्थामा पुगेको छ ।

यो चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, बिरूप घले, सारा राईलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । अभियनमा बेलायतबाट डिप्लोमा गरेका यो चलचित्रका मुख्य अभिनेता रितेश चाम्सले गोर्खा वारियरबाटै चलचित्र अभिनयमा डेब्यु गरेका हुन् ।

गोर्खा वारियरमा निर्देशक मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, मिलन श्रेष्ठको सम्पादन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन, राजेन्द्र मोक्तानको रंग संयोजन रहेको छ । यो सिनेमाको हिन्दी भर्सनमा भारतीय गायक सानको स्वरमा गीत रहेको छ ।

यो चलचित्र लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो । गोर्खा वारियरको निर्मातामा सुमन राई, सुस्मिता वाइबा छन् । यसको कार्यकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् । यो चलचित्रलाई नेपालमा श्री बेंकेटेस फिल्मसका मनोज राठी र उज्ज्वल पौडेलले नेपालमा बितरण गर्दैछन् ।

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update